परीक्षाको अघिल्लो दिन लोक सेवाको कार्यालय अगाडि विरोध प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं – लोकसेवा आयोगले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ । स्थानीय तहका लागि भन्दै गत असारमा लोक सेवाले ९ हजार १ सय ३२ पदका लागि आवेदन माग गरेको थियो जसको परीक्षा साउन ३ (भोलि) बाट शुरु हुँदैछ । आयोगको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विभिन्न संघ संस्थाले विरोध गर्दै आएका छन् । त्यसै क्रममा उनीहरुले परीक्षाको पूर्वसन्ध्यामा आयोगको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण केहीबेर अनामनगरको बाटो अवरुद्धसमेत भएको थियो । प्रदर्शनकारीलाई प्रहरीले सामान्य वल प्रयोग गरी हटाएको थियो । लोक सेवा आयोगले असारमा विभिन्न स्थानीय निकायले माग गरे बमोजिम भन्दै ९ हजार भन्दा बढी पदका लागि आवेदन माग गरेको थियो । तर, माग गरिएको आवेदन समावेशीताको मर्म विपरित भएको भन्दै विभिन्न संघसंस्थाले विरोध गर्दै आएका छन् । लोकसेवाको विज्ञापन समावेशी समानुपातिक नभएको भन्दै सर्वोच्चमा रिट समेत परेको थियो । तर सर्वोच्च अदालतले विज्ञापन खारेज गर्नुपर्ने कारण नरहेको भनेसँगै लोकसेवालाई परीक्षा गर्नका लागि बाटो खुला भएको थियो ।