झाँक्री भन्छिन – ‘योगेश दाइ अलोकप्रियताको भुंग्रोमा पर्नुभो, उम्कनुपर्छ’

प्रकाशित मिति:

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएपछि नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागिरहेको छ । शुभकामना व्यक्त गर्ने सत्तारूढ दलका नेता–कार्यकर्तामात्रै छैनन् । विपक्षी दलका नेता–कार्यकर्ता र उनका समवयीहरूले पनि उत्तिकै महत्त्वका साथ शुभकामना दिइरहेका छन् ।

तर, रामकुमारी झाँक्रीको प्रतिक्रिया भने भिन्न छ । उनले योगेश भट्टराई भुंग्रोमा परेको र त्यहाँबाट उम्कनुपर्ने विचार व्यक्त गरेकी छिन् । केपी ओली नेतृत्वको सरकार आफ्नै कारण अलोकप्रिय भइरहेका बेला भट्टराईलाई मन्त्री पद थमाइएको उनको तर्क छ ।

पार्टीभित्र आलोचक नेतृको छवि बनाएकी नेतृ झाँक्रीले भनेकी छन्– “आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्‍यो । जसका कारण योगेश दाइलाई मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो– जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । हो, योगेश भट्टराई भुंग्रोबाट निस्कनुपर्छ हार्दिक बधाइ अनि शुभकामना !