अन्तरविद्यालय फुटबलको उपाधि स्कलर्स होम र स्मृतिलाइ

प्रकाशित मिति:

बुटवल –रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि स्कलर्स होमले जितेको छ । रुपन्देहीका सरकारी र नीजि ४३ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा स्मृति बोर्डिङ स्कूल तिलोत्तमालाई ट्राइब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउंदै स्कलर्सले उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको निकै प्रतिस्पर्धात्मक खेलमा स्कलर्सको जितमा जीवन राई,विज्ञान गुरुङ,रिजन गुरुङ र जुलेश थापाको प्रहारले जाली चुमेको थियो भने सिजन थापाको प्रहार असफल भएको थियो ।

स्मृतिका अजय पाठक र अंकित सिंजापतिले आफ्नो प्रहारलाई जाली चुमाउन नसक्दा स्कलर्सको जित निश्चित भएको थियो । स्मृतिका सदिप केसी र निखिल कार्कीको प्रहार भने सफल भएको थियो । सात विद्यालयको सहभागिता रहेको छात्रा फुटबलको उपाधि भने स्मृति बोर्डिङले जितेको छ । आइतबार नै भएको फाइनल खेलमा शान्ति नमूना मावि मणिग्रामलाई ४–०ले पछि पार्दै स्मृतिले उपाधि चुमेको हो । स्मृतिको जितमा मायासरी गाहाले १० मिनेट,अन्जु दर्लामीले १२ तथा रितु तामाङले २४ र ६३ औं मिनेटमा गोल गरेकीथिइन् । छात्रतर्फको विजेता टिमले ३० हजार उपविजेताले १५ हजार तथा छात्रातर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार हात पारेका छन् । विजयी टिमलाई प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ,जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी, प्रतियोगिता संयोजक जिल्ला फुटबल संघका उपाध्यक्ष हरि क्षेत्रीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला विजेता छात्र र छात्रा टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्न पाउने छन् ।