मणिग्राममा शैक्षिक प्रशिक्षण केन्द्र सञ्चालन

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको मणिग्राममा शैक्षिक,भाषा र सीपमूलक तालीमका कक्षा सञ्चालन गर्ने उद्देश्यले टिम्स् एजुकेशनल सेन्टर सञ्चालनमा आएको छ । २ वर्ष अघि स्थापना भएको संस्था नयां नेतृत्व र व्यवस्थापन सहित सञ्चालनमा आएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संस्थालाई नाफामूलक भन्दा सेवामूलक ढंगले सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष तोलाकान्त डुम्रेले बताए ।

माध्यमिक तथा क्याम्पस तहका बिद्यार्थीलाई अतिरिक्त कक्षाका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नेगरी योजनावद्ध रुपमा आफूहरु लागि परेको उनले बताए । संस्थाले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने बिद्यार्थीलाई शैक्षिक परामर्श, मन्टेश्वरी तालिम, कम्प्युटर कक्षा, शिक्षक सेवा आयोगका कक्षा, अंग्रेजी, कोरियन भाषा कक्षा, लोक सेवा आयोगका कक्षाहरु, सांगितिक कक्षा, उद्घोषण तालिम, वाक कला तथा लेखासंग सम्बन्धित कक्षाहरु सञ्चालन गरिने अध्यक्ष डुम्रेले जानकारी दिए । पत्रकार सम्मेलनमा कोरियन भाषा प्रशिक्षक जेएन न्यौपानेले आफूहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्धता सहित संस्थामा आवद्ध भएको र गुणस्तरीय प्रशिक्षणमा सम्झौता नगर्ने बताए । टिम्समा शैक्षिक र भाषा प्रशिक्षण क्षेत्रका ६ जनाको लगानी रहेको भोजराज वस्तीले बताए ।