तनहुँमा कांग्रेस नेता मिनेन्द्रलाई नेकपाले गर्यो अवरोध
रामचन्द्र पौडेल भन्छन् ‘ यो त मण्डले शैली भयो’
तनहुँ – तनहुँको रिसिङ गाँउपालिका भवन उद्घाटनका लागि पुगेका नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताले बाटोमा अवरोध गरेका छन्। उनीहरुले तनहुँ सदरमुकाम दमौलीबाट रिसिङ गाउँपालिका जाने बाटो भत्काएर अवरोध गरेका हुन्। गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उद्घाटन डा. रिजालबाट गराउने निर्णय भएकोबारे प्रहरी प्रशासनलाई समेत जानकारी गराएको थियो। रिजालले प्रधानमन्त्री केपी ओलीको विरोधमा कालो झण्डा देखाउनेलाई पक्राउ गर्ने अनि अन्य पार्टीका नेता कार्यकर्ताको बाटो अवरोध गर्न कार्यकर्ता उत्रार्ने कस्तो शैली भन्दै प्रश्न गरेका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सो घटनालाई नेकपाका कार्यकर्ताको मण्डले शैली भनेका छन्। पौडेलले भनेका छन् ‘पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु।’ सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको पौडेलको आरोप छ । पौडेलले सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधि तत्काल नियन्त्रण नगरे कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए।












