बाग्लुङ – जनश्रमदान र निजी स्रोतबाट यहाँको एक विद्यालय भवनमा चार कोठा थप गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माविले बाहिरी सहयोग बिनै कक्षाकोठा निर्माण गरेको हो । बीस लाख खर्च गरेर कोठा बनाइएको निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताए । सात लाख बराबरको जनश्रमदान गरिएकाे उनले बताए । बाँकी रकम विद्यालयको आफ्नै स्रोतबाट खर्च भएको छ । कक्षा ११ सञ्चालनका लागि कक्षाकोठा अभाव भएपछि स्थानीयवासी पूर्वाधार थप्न कस्सिएका थिए । पुरानो एकतले पक्की भवनको माथि कोठा थप गरिएको अध्यक्ष थापाले जानकारी दिए । कोठा थप भएपछि पठनपाठनमा सहजता थपिएको विद्यालयका प्रअ देवबहादुर खत्रीले बताए । उनले भने, “अझै थप कक्षाकोठाको आवश्यकता छ ।” पुनःनिर्माण प्राधिकरणमार्फत् चार कोठे नयाँ भवन निर्माणका लागि पहल भइरहेको विद्याललयले जनाएको छ ।
विसं २०२१ सालमा खुलेको विद्यालयलले यही वर्षदेखि कक्षा ११ को पढाइ शुरु गरेको छ । विद्यालयले कक्षा दशसम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी गरेको छ । भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तर सुधारमा योजना बनाएर काम थालिएको व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर थापाले बताए । समितिले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन घरदैलो अभियानसमेत चलाएको थियो ।