काठमाडौँ — निजी मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विरोधमा बुधबारपनि विद्यार्थीले काठमाडौंमा प्रर्दशन गरेका छन् । विभिन्न मेडिकल कलेजबाट आएका चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले माइतीघर मण्डलादेखि बानेश्वरसम्म दोस्रो दिनपनि विरोध र्याली गरेका हुन्। मंगलबार पनि विद्यार्थीले माइतीघरमा विरोध प्रर्दशन गरेका थिए।
एप्रोन लगाएर गरिएको र्यालीपछि विद्यार्थी अगुवाहरुले शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने जनाए। सभामा चिकित्सा शिक्षा संघर्ष समितिका संयोजकहरु मिलन गैरे र प्रकाश चन्द लगायतले बोलेका थिए। विद्यार्थी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थालने भोलि (बिहीबार) बाट हुने वार्षिक परीक्षा समेत स्थगित गरेको छ। गण्डकी, चितवन, नेशनल, युनिर्भसल लगायत मेडिकल कलेजमा शुल्क फिर्ताको माग राख्दै विद्यार्थी ९ महिनादेखि आन्दोलनमा छन्। अझै पनि मेडिकल कलेजहरुले सरकारको निर्देशनअनुसार अतिरिक्त शुल्क फिर्ता वा समायोजन गरेका छैनन्। बढि शुल्क लिने कलेजलाई कानुन बमोजिम कारबाही गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह गरेको छ। – इकान्तिपुर










