परीक्षा सुरु हुने समय र कक्षाकोठा खोल्ने समय एकै पटक विद्यार्थीद्वारा आन्दोलन, परीक्षा रद्ध गर्न माग

प्रकाशित मिति:

शिक्षक सेवा आयोगले लिएको अध्यापन अनुमति पत्रको परीक्षा रद्ध गर्न परीक्षार्थीहरुले माग गरेका छन् । भैरहवा स्थित रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा केन्द्र परेका परीक्षार्थीले केन्द्राध्यक्षले परीक्षा सुरु हुन भन्दा ३ मिनेट अगाडि मात्रै गेट खोलेको र परीक्षाको समय थोरै भएको भन्दै विद्यालयको प्रशासन अगाडि नाराबाजी गरेका छन् ।परीक्षा शुरु हुन भन्दा ३० मिनेट अगाडि जनाउ घण्टी लागे पछि परीक्षार्थीहरुलाई परीक्षा हलमा प्रवेश गराइन्छ । उत्तरपुस्तिका दिइन्छ, निर्धारित समयमा घण्टी लागेपछि परीक्षार्थीलाई प्रश्न पत्र दिइने व्यवस्था छ । सो कुरा परीक्षार्थीको प्रवेश पत्रमै उल्लेख गरिएको छ । तर रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा शुरु हुने समय ११ः३० बजे भएता पनि ११ः२७ मा कक्षाकोठा खोलिएको कक्षा कोठा खोल्दा खोल्दै प्रश्नपत्र दिने घण्टी लागेको र उपत्तरपुस्तिका र प्रश्न पत्र सँगसँगै दिएकोले समय अभाव भएको परीक्षार्थी रमेश खनालले बताए । परीक्षा नियमानुसार नभएको र केन्द्राध्यक्षको लापरवाहीले परीक्षार्थीले उत्तर लेख्ने समय नभएको अर्का परीक्षार्थी माधब पन्थीले बताए ।

परीक्षार्थीलाई हलभित्र प्रवेश गराउने समय ३० मिनेट अगाडि र परीक्षा सञ्चालनको समय ४० मिनेट हुनु पर्नेमा रुपन्देही लीलाराम न्यौपाने माविमा केन्द्र परेका सबै परीक्षार्थीलाई केन्द्राध्यक्षले समयमै परीक्षाहल नखोलिदिएर हलभित्र प्रवेश गर्ने समय परीक्षाको समय ४० मिनेट मात्रै राखेर परीक्षामा अन्याय गरेको र प्रशासनकै कमजोरी हुँदा पनि समय थप नगरिएको परीक्षार्थी पुनम गैरेले बताइन् ।

रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा कपिलवस्तु र रुपन्देहीका गरि कुल २ सय ३९ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । अङ्गे्रजी विषयको अध्यापन अनुमति पत्रको वस्तुगत प्रश्नको परीक्षा ४० पूर्णाङ्कको थियो । यो परीक्ष यस अघि प्रश्नपत्र सँग उत्तर पनि सँगै लेखिएकोले रद्द भएको थियो ।उता रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका कार्यवाह प्राचार्य तथा शिक्षक अध्यापन अनुमनि पत्र परीक्षाका केन्द्राध्यक्ष रुपकुमार रायमाझीले निर्धारित समयमा परीक्षा सुरु भएको हो कुन विद्यार्थी कतिबेला परीक्षाहलमा प्रवेश ग¥यो त्यो रेकड छैन । परीक्षा शुरु हुन भन्दा अगाडि नै सबै गार्डहरुलाई परीक्षाहलमा प्रवेश गर्न मैले निर्देशन गरिसकेको थिए रायमाझीले भने ।जिल्ला शिक्षा समन्वय कार्यालयका प्रमुख दिपेन्द्र ढकालले सबै परीक्षा केन्द्रमा एकै पटक परीक्षा सञ्चालन गर्न निर्देशन गरेको र भैरहवा नमुना माध्यमिक विद्यालयमा पाल्पा जिल्लाका केही परीक्षार्थीहरुको नाम तलमाथी पर्न गएकोले आफू त्यता भएको र ४० मिनेटको परीक्षा भएकोले बुटवलका विद्यालयहरुमा हेर्न जानु परेकोले रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा पुग्न नसकेको बताए ।