न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिता ,ग्रिन प्लान्ट र काशी नोबल विजयी

प्रकाशित मिति:

स्वस्तिक श्रेष्ठ/बुटवल –रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा ग्रिन प्लान्ट र काशी नोबल विजयी भएका छन । शुक्रबार भएको खेलमा ग्रिन प्लान्टले सयपत्री बोर्डिङ स्कुलमाथि १४ रन तथा काशी नोबेलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ४ विकेटले पराजित गरेको हो । न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर सयपत्रीले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेको ग्रिनप्लान्टका ब्याटसम्यानहरुले पुरै ओभर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ११ रनको योगफल तयार गरेका थिए । ग्रिनप्लान्टका दिलु रुचालले २७ रन तथा प्रविण काफलेले २३ रन बनाएका थिए । सयपत्रीका नुरआलम अन्सारी र बिशाल यादवले समान ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर २–२ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछ्याएको सयपत्रीका ब्याट्सम्यानहरु १७.३ ओभरमा ९७ रनमा समेटिएका थिए । सयपत्रीका विष्णु मगरले २० रन तथा बिशाल यादवले १५ रन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन सकेनन । कम स्कोरमा रोक्न ग्रिनप्लान्टका विशाल अर्यालले किफायती बलिङ गरे । उनले शानदार ४ विकेट तथा मिलन न्यौपानेले २ विकेट लिएका थिए । खेलमा ग्रिन प्लान्टका विशाल अर्याल म्यान अफ दी म्याचबाट पुरस्कृत भए । दोस्रो खेलमा टस जितेर ज्ञानपुञ्जले ५ विकेटको नोक्सानीमा २० ओभरमा १ सय ६ रनको लक्ष्य खडा गरेको थियो । ज्ञानपुञ्जका दिपेन्द्र हिताङले १६ रन, प्रशान्त भुषालले २५ रन तथा सन्दिप महतोले २२ रन बनाएका थिए । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्यलाई काशीका ब्याट्सम्यानले १९.५ ओभरमा ६ विकेटको नोक्सानीमा जित हासिल गरेका थिए ।काशीको जितमा सहजाद आलमले नटआउट ६२ रन तथा अभिषेक यादवले १० रन बनाएका थिए । ज्ञानकुञ्जका सन्देश पाण्डे र मिलन भण्डारीले समान २–२ विकेट लिएका थिए । खेलमा काशी नोबेलका सहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तरगत शनिबार प्रिक्याटरफाईनलका खेलहरु हुने छन । पहिलो खेल न्यु मुन बोर्डिङ स्कुलले होराईजन जिविएस तथा दोस्रो खेलमा न्यु होराईजन बोर्डिङ स्कुलले ग्रिन प्लान्ट बोर्डिङ स्कुलसंग सामना गर्ने छन । तिलोत्तमा नगरपालिका नवजिवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन ।प्रतियोगिताको संयोजक शक्ति गौचनले प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।