यस्तो छ बेलको धार्मिक महत्व

प्रकाशित मिति:

काठमाडौँ /बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ । शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ । शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ ।माछामासु, मदिरा तथा अन्य तामसिक भोजनबाट टाढा रहेर हिन्दूहरुले भगवान शिवको पूजा आराधना गर्दा बेलको प्रयोग गरिन्छ । बेलपत्र विना भगवान शिवको पूजालाई अपूरो मान्ने चलन छ ।भनिन्छ महादेवलाई एक मात्र बेलपत्र अर्पण गर्दा पनि उनी खुसी हुन्छन त्यसैले उनलाई आशुतोष भन्ने गरिएको छ । बेलपत्रको रुखलाई शिवद्रुम पनि भन्ने गरिन्छ ।

जो सम्पन्नताको प्रतीक, अति पवित्र तथा समृद्धिको वाहक मानिन्छ ।बेलपत्रलाई भगवान शंकरको आहारा मान्ने गरिन्छ । त्यसैले यसलाई अति श्रद्धाका साथ शिवलिंग तथा महादेवको मूर्तिमा चढाउने गरिन्छ हिन्दू धर्मावलम्बीका विश्वास अनुसार बेलपत्रमा हुने त्रिनेत्रस्वरुपको तीनै पात शिवको तीन नेत्रका लागि विशेष प्रिय हुन्छ ।भगवान शंकरका लागि बेलपत्र अति प्रिय प्रसाद मानिन्छ । भाङ, धतुरो र बेलपत्रबाट प्रसन्न हुने भगवान शिव नै हुन भन्ने मान्यता आम हिन्दूमा छ । अझ शिवरात्रिको अवसरमा शिवलाई बेलपत्र चढाएर विशेषरुपमा पूजा गर्ने चलन छ । तीन पत्र भएको बेलपत्र सहजै उपलब्ध हुने गर्छ तर केही बेलपत्र यस्ता पनि हुन्छन जो दुर्लभ त हुन्छन नै त्यसमाथि चमत्कारिक पनि हुने गर्छन ।श्रीमददेवी भागवतमा प्रष्टसंग यो पनि वर्णन गरिएको छ कि जो भक्त भगवतीलाई बेलपत्र अर्पण गर्छ उसलाई कुनै पनि परिस्थितिमा दुःख र कष्टको सामना गर्नु पर्दैन । उसलाई हर क्षेत्रबाट सिद्धी प्राप्त हुने र कैयौ जन्मको पापबाट मुक्ति मिल्नेछ । र , ती भक्त भगवान आशुतोषको प्रियमा पर्ने गर्दछन् । उनको सबै कामना पूरा हुने र अन्तमा मोक्ष प्राप्त हुने विश्वास गरिन्छ ।