चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण

प्रकाशित मिति:

बुटवल – अर्घाखाँचीको पोखराथोकका एक ८४ वर्षीय वृद्धले विद्यालयलाई ११ रोपनी जग्गा तथा बृद्ध भत्ता बापतको रकम दान गरेका छन् । पाणिनि गाउँपालिका २ पोखराथोक रयलेका रविलाल नेपालीले चौरासी पूजाका अवसरमा विद्यालयलाई जग्गा दान गरेका हुन् । उनले चौरासी पूजामा फजुल खर्च नगरी बालबालिकालाई शिक्षाको ज्योति फैलाउने उद्देश्यले विद्यालयलाई जग्गा तथा रकम दान गरेको बताए।पाणिनि गाउँपालिका ३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद पाँच हजार रुपैयाँ पाणिनि २ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गरे ।

चौरासी पूजामा खर्च नगरी विद्यालयलाई दान दिएको वृद्ध रविलालले बताए । ‘मैले गरेको काम सबैका लागि प्रेरणा बनोस् । गाउँको विद्यालयलाई गाउँलेले नै सहयोग गर्नुपर्छ।’ विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपूर्जा रविलालले वडाध्यक्ष नेत्रप्रसाद भटराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गरेका हुन् । ‘एक दलित परिवारको वृद्ध मानिसले मन ठ्लो बनाएर विद्यालयलाई जग्गा दान गरि समाजकै उदाहरणीय काम गर्नु भएको छ। यसबाट हामी सबैले सिक्न जरुरी छ, ‘वडाध्यक्ष नेत्रप्रसाद भटराइले भने,| विद्यालयको विकासमा यो दानले उल्लेखनीय भूमिका खेल्नेछ।’ कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनाललगायतको उपस्थिति रहेको थियो।