उपनिर्वाचनमा कांग्रेस : सरकारको कमजोरी मुख्य एजेन्डा बनाउँदै

प्रकाशित मिति:

पोखरा – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार बनेपछिका २१ महिनाका सरकारका कमजोरीलाई नै चुनावी एजेन्डा बनाएको छ । विगतका निर्वाचनमा मतदाताबीच पुगेर आÏनो इतिहासको बयान गर्दै आएको कांग्रेसले १४ मंसिरमा हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भने वर्तमान सरकार बनेपछिका कमजोरीलाई चुनावी एजेन्डा बनाएको हो । सरकार गठन भएयताको २१ महिनामा कांग्रेसले भ्रष्टाचार बढेको, सुशासन कायम हुन नसकेको, हत्या तथा हिंसाका काण्डैकाण्डका घटना भएको, महँगी र मूल्यवृद्धि बढेको र अधिनायकवादको बाटोमा सरकार अघि बढेको आरोप लगाएको छ । कांग्रेसले चुनावी अभियानकै क्रममा सरकार बनेयताका कमजोरी जनतालाई बुझाउन हरेक दिन एउटा कमजोरी औल्याउँदै सरकारलाई प्रश्नसमेत गर्दै आएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हरेक दिन कांग्रेसले सरकारलाई एक प्रश्न गर्दै जवाफ खोज्दै आएको बताए । सो प्रश्न आमजनताको प्रश्न भएकाले आफूसँग मत माग्न आउने नेतालाई प्रश्न गरेर आÏनो विवेकको मत प्रयोग गर्न मतदातालाई कांग्रेसले आग्रह गरेको उनले जनाएका छन् ।

कांग्रेसले लिपुलेक र लिम्पियाधुराको नक्सा विवादलाई पनि चुनावी एजेन्डा बनाएको छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफैं उपस्थित भई उपनिर्वाचनका चुनावीसभामा सो विषयलाई उठान गरिरहेका छन् । शनिबार उनले पोखरामा आयोजित चुनावीसभामा नेपाली भूमि गाभेर भारतले नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेको आरोप लगाएका थिए । कांग्रेसले अघिल्लो साता चुनावी आह्वानपत्र सार्वजनिक गर्दै सरकारको २१ महिने अवधिका २१ असफलता सार्वजनिकसमेत गरेको थियो । गत निर्वाचनमा कमजोर बनेको कांग्रेस उपनिर्वाचनबाट सरकारलाई थप अलोकप्रिय देखाउन र नेकपाले जितेका ठाउँमा जित्ने रणनीतिमा गुट बिर्सिएर लागेको कांग्रेस नेता बताउँछन् । नेता अर्जुननरसिंह केसीले सरकारप्रतिको असन्तुष्टी बढेका बेला पार्टीका सबै नेता एक भएर उपनिर्वाचनमा होमिएको बताए । कांग्रेस विगतको पराजय, लोकतन्त्रको रक्षा र एकदलीय सर्वसत्तावादी सोचको अन्त्यका लागि उपनिर्वाचनलाई मिनी जनमतसंग्रहका रूपमा लिएर निर्वाचनमा एकताबद्ध ढंगबाट होमिएको बताए । कांग्रेस उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, युवा नेताहरू विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरेसहितका नेता पार्टीले तोकेका उम्मेदवारका पक्षमा माहोल बनाउन भन्दै जिल्ला दौडाहामा छन् ।

सबै गुट एकैठाउँ उपनिर्वाचनामा उम्मेदवार टुंग्याउन लामै रस्साकस्सी भएको कांग्रेसमा उपनिर्वाचन नजिकिँदै गर्दा भने नेताहरू पार्टीले तोकेका आधिकारिक उम्मेदवार जिताउन गुट बिर्सिएर लागेका छन् । कांग्रेसभित्र प्रस्ट तीन गुट रहेकामा उपनिर्वाचनका लागि भने सबै नेता गुटको नेतृत्व बिर्सिएर पार्टीका उम्मेदवार जिताउन लागेका हुन् । सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पार्टीले तोकेका उम्मेदवारलाई सघाउन सक्रिय रूपमा जिल्लाजिल्लामा खटिएका छन् । यसैगरी, सबै गुटमा रहेका तल्ला तहका नेतासमेत टोली बनाएरै पार्टीले तोकेका उम्मेदवारलाई सघाउन जिल्ला दौडाहमा निस्किएका छन् । कांग्रेसले कास्कीमा डा. मिनेन्द्र रिजाल, दाङमा देवेन्द्रराज कँडेल, बाग्लुङमा प्रदीप पौडेल, भक्तपुरमा मोहनबहादुर बस्नेत र सुनसरी (धरान) मा महेश आचार्यलाई निर्वाचन कमान्डर बनाएरै खटाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका कमजोरीलाई भण्डाफोर गर्दै कांग्रेसलाई जिताउन दुई दर्जनभन्दा बढी केन्द्रीय नेताहरू जिल्लाजिल्लामा पुगेको बताए ।