हिसान जिल्ला स्तरीय वक्तृत्वकलाको उपाधी मणिमुकुन्दका सेजललाई

प्रकाशित मिति:

झविन्द्र देवकोटा /बुटवल – रुपन्देहीमा भएको हिसान जिल्ला स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिताको उपाधी बुटवलका विद्यार्थी सेजल भण्डारीले हात पारेका छन् । रुपन्देहीका विभिन्न २० संस्थागत माविका प्रतिस्प्रर्धी विद्याथीहरुलाई उछिन्दै मणिमुकुन्द माध्यमिक विद्यालय योगिकुटीका विद्यार्थी भण्डारीले उपाधी जितेका हुन् । उनले उपाधी सहित नगद ५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पारे । यस्तै भलवाडिमा रहेको सेन्टजोसेफ माविका विद्यार्थी निर्मित भट्टराई द्वितिय भए भने होराईजन जिबीएस मावि ड्राईभरटोलका विद्यार्थी रोशनी पौडेल तृतिय भईन् ।

उनीहरुले क्रमश तीन हजार, दुई हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारेको हिसानका सदस्य बाबुराम बन्जाडेले जानकारी दिनुभयो । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा जारी ‘हिसान खेल सप्ताह’ अन्तरगत जारी वक्तृत्वकला प्रतियोगितामामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिका वडानम्बर ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले विद्यार्थी जीवनलाई सार्थक बनाउनका लागि कितावी ज्ञानसँगै अतिरिक्त ज्ञान आर्जन गर्न उत्तिनै आवश्यक रहेको बताउनुभयो ।

उहाँले समयसमयमा आयोजना गरिने अतिरिक्त कृयाकलापले विद्यार्थीको चौतर्फी विकासमा ठुलो भुमिका खेल्ने विचार राख्नुभयो । हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली, बरिष्ठ साहित्यकार ऋषिराम भूषाल, कार्यक्रम संयोजक पुरुषोत्तम बस्याल लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रममा वक्तृत्वकला प्रतियोगिताको शिर्षक ‘नेपालको समृद्धिमा पर्यटन वर्ष सन् २०२०, सम्भावना र चुनौती’ राखिएको सचिव पुष्प घिमिरेले जानकारी दिनुभयो । वक्तृत्वकला प्रतियोगिता हिसान खेल सप्ताह अन्तरगत बुधबार भएको हो भने खेल सप्ताहको समापन बिहीबार हुँदै छ ।