डेढ महिनाभित्र हस्तान्तरण हुँदै ‘दरबार हाई स्कुल’

प्रकाशित मिति:

काठमाडौं – बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूलको पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी हुँदा हाई स्कुल यस्तो देखिएको हो । गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ । यही पुस महिनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ ।
तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक १०० कामदारले काम गरिरहेका छन् ।

निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठाको भएको छ । यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए । ‘आगामी माघ महिनामा सरकारलाई हस्तान्तरण हुन्छ’, केसीले भने ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त हाई स्कूलको पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा विसं २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ । शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । – रासस