काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० को बुधबार हुने उद्घाटनमा भाग लिन तीन देशका पर्यटनमन्त्री काठमाण्डु आइपुगेका छन् । त्यस्तै चीन र भारतबाट पर्यटन राज्यमन्त्री आएका छन् । उनीहरुलाई मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका थिए।
भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन आइल्याण्ड मुलुक जमैकाका पर्यटन मन्त्री एडमुन्ड बार्टलेट् काठमाण्डु आइपुगेका हुन् । त्यसैगरी म्यानमारका पर्यटनमन्त्री ओन मउङ पनि मंगलबारै काठमाण्डु आएका छन् ।
कार्यक्रममा सहभागी हुन भारतीय पर्यटन राज्यमन्त्री प्रहलाद सिंह पटेल र चीनका पर्यटन राज्यमन्त्री वङ सियाओफेङ नेपाल आएका छन् । नेपालले ३० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई निम्तो दिए पनि मंगबार बेलुकासम्म तीन देशका पर्यटन मन्त्री र दुई देशबाट राज्यमन्त्री आएका छन् । आज दिउँसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डुमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ भने सातै वटा प्रदेशमा पनि उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन शत्रमा काठमाण्डु तीन हजार झाँकी निकालिदै छ ।












