प्रकाश अधिकारी / काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर पक्ष जिल्ला सभापतिहरूको काठमाडौमा भइरहेको भेलामा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्ल पनि देखिएका छन्।
पार्टी कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको परामर्श बैठक बुधबार सकिएको छ। संस्थापन इतर पक्षको उपस्थिति बिना पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट भएका निर्णय सच्याउन पार्टी सभापति देउवालाई दबाब दिने उद्देश्यका साथ बैठकको अयोजना गरिएको थियो । संस्थापन इतर समुहले गरेको उक्त जिल्ला सभापतिहरूको भेलाको संयोजन वरिष्ठ नेता रामचन्द्र पौडेलले गरिराखेका छन्।
देउवाले गरेका निर्णयका विरुद्धमा पौडेलले जिल्ला सभापतिको साथ खोजेका थिए । जसमा उनलाई पहिलो साथ देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्ण मल्लको रहेको छ। देउवाको निर्णयविरुद्ध सानेपामा करिब ५० जिल्ला सभापतिको भेला भएका थियो। देउवाको निर्णयविरुद्ध पहिलो हस्ताक्षर मल्लले गरेका हुन् । उनी सानेपामा पनि सबैभन्दा पहिले पुगेका थिए । लामो समय देउवाको स्वकीय सचिव रहेका मल्ल यतिबेला देउवाविरुद्ध अग्रपंक्तिमा देखिन्छन् । मल्ल स्पस्ट वक्ता, यथार्थवादी,जुझारु तरूणहरू बिच लोकप्रिय नेताका रूपमा पनि चिनिन्छन्।












