कोरोना भाइरस : एकै दिन ६४ बिरामीको मृत्यु

प्रकाशित मिति:

कोरोना भाइरसबाट चीनमा एकै दिन ६४ जनाको मृत्यु भएको छ। मंगलबार हङकङमा पनि एक जनाको मृत्यु भएको जनाएको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले मंगलबार बिहानसम्म चार सय २६ जनाको ज्यान लिइसकेको छ। सोमबार बिहानसम्म तीन सय ६२ जनाको मृत्यु भएको थियो। सोमबार बिहानदेखि मंगलबार बिहानसम्म थप ६४ जनाकाृ मृत्यु भएको हो। यसको संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। त्यस्तै, कोरोना भाइरसको संक्रमण पनि बढिरहेको छ। मंगलबार बिहानसम्म संसारभर २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ।

मंगलबार हङकङमा ३९ वर्षीय युवकको मृत्यु भएको हो। उनको प्रिन्स मार्गरेट हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ। उनी २१ जनवरीमा हङकङबाट वुहान गएको जनाएको छ। यस अघि फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो। उनी पनि चीनबाट फिलिपिन्स भ्रमणमा गएका थिए। चीनबाहिर फिलिपिन्स र हङकङमा गरि दुई जनाको मृत्यु भएको छ।

चीनको वुहान शहरमा रहेका विदेशी नागरिक लगभग आफ्नो देश फर्किसकेका छन्। अमेरिका, बेलायन, जापान, सिंगापुर, भारतलगायत धेरै देशले आफ्ना नागरिकलाई फिर्ता लगिसकेका छन्। वुहानमा रहेका एक सय ८० जना नेपालीले पनि स्वदेश फर्किन माग गरेका छन्। उनीहरूलाई स्वदेश फर्काउन सरकारले पनि तयारी गरिरहेको छ। एक–दुई दिनभित्रै उनीहरूलाई स्वदेश ल्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।