काठमाडौं, चैत १२ : पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले महासंकटबाट पार पाउन लकडाउन मात्र पर्याप्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन्।
आफू कोरोना संक्रमण विरुद्धको लडाइँमा हरपल साथ रहेको बताउँदै थापाले कोरोना संक्रमण फैलन नदिन तत्काल गर्नुपर्ने कामबारे सरकारको ध्यानआकार्षण गराएका हुन्।
बुधबार ट्वीटरमा ट्वीट गर्दै थापाले हवाइ तथा स्थलमार्गबाट आएका हजारौं नागरिकको अभिलेख नभएकोले कोरोना परीक्षणको दायरा बढाउन आवश्यक भएको बताएका छन्। विदेशबाट आएकाहरु निर्वाध रुपमा हिडडुल गरिरहेको ले उनीहरुमध्ये एक जनामा मात्रै कोभिड-१९ पोजेटिभ देखिए त्यसले विकराल अवस्था ल्याउन सक्ने उनले बताएका छन्।












