सरकारले लकडाउन थप एक हप्ता बढाउने

प्रकाशित मिति:

काठमाडौं, चैत १६ : सरकारले लकडाउन थप एक हप्ता बढाउने निर्णय गरेको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन एक हप्ता बढाएर चैत २५ गते राति १२ बजेसम्म कायम राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

सरकारले यसअघि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द  गर्ने गरी चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरेको थियो।  बैठकले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन पालना गर्ने सबैलाई धन्यवाद पनि दिएको छ।  यसअघि आइतबारै बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप सात दिन बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो।