काठमाडौं, चैत २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमणले अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा विज्ञहरुसँग छलफल गरेका छन्।नेता पौडेलले भिडियो कन्फेरेन्समार्फत बिहीबार विज्ञहरुसँग छलफल गरेका हुन्। छलफलमा वरिष्ठ नेता पौडेलले आजको युग अनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव विज्ञहरु मागेका थिए।
छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरु डा। गोविन्द पोखरेल र डा। स्वर्णिम वाग्ले, प्राध्यापक डा। कमल रिजाल, डा। सुरज पोखरेल, डा। सिद्धिगणेश श्रेष्ठ, डा। माधवप्रसाद पौडेल, डा। प्रधुम्नराज पाण्डे र सहदेवप्रसाद हुमागाइँ सहभागी थिए।उनीहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्रथामिकतामा राख्नुपर्ने बताएका थिए। छलफल कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानीका विषयमा केन्द्रीत भएको थियो। विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्नका लागि भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा वृद्धि गर्नुपर्ने बताएका थिए।छलफलमा सहभागी डा। स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिनुपर्ने कृषि क्षेत्रले दिनसक्ने आउटपुटका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताएका थिए।












