विदेशी नागरिक बोकेर सिड्नी उड्यो नेपाल एयरलाइन्स

प्रकाशित मिति:

काठमाडौं, वैशाख २४ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम  नेपाल एयरलाइन्स ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ।लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइडबडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।अष्ट्रेलियाले निगमको वाइड बडी जहाज चार्टर्ड गरी आफ्ना नागरिक स्वदेश फिर्ता लगेको हो। नेपालस्थित अष्ट्रेलियन दूतावासले चार्टर्ड गरेको यो जहाजमा अष्ट्रेलियन र केही न्यूजिल्याण्डका नागरिक रहेको जनाइएको छ।

काठमाडौं विमानस्थलबाट दिउँसो सिड्नी उडेको वाइड बडी जहाजले मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै साढे १२ घण्टाको उडान तय गरी गन्तव्यमा पुग्नेछ। निगमको वाइड बडी जहाज बिहीबार साँझ काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ। निगमको अष्ट्रेलियामा चार्टर्ड उडान दोस्रो हो । यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टर्ड उडन गरेको थियो। मलेसिया ट्रान्जिट हुँदै अष्टेलियासम्मको उक्त उडान करिब १३ घण्टाको थियो। निगमको अर्को वाइड बडी जहाजले आजै चीनको राजधानी बेइजिङमा कार्गो उडान गर्दैछ। साँझ ५ः३० बजे बेइजिङ उड्ने जहाज बिहीबार काठमाडौँ फर्कने तालिका छ। निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ। रासस