प्रदेश सरकारले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने , जसका लागि ५१ करोड १४ लाख रुपैंया खर्च गरिने

प्रकाशित मिति:

रीमा बि.सी- बुटवल,जेठ १ गते । प्रदेश नं. पाँच मन्त्री परिषदको बैठकले कोरोना भाइरस -कोभिड—१९ बाट प्रभावित किसानहरुलाई राहत प्रदान गर्न जेठ १ गते कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च हुनेछ । कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन हुने क्षेत्रमा कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया,बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने, ५ सय किसान लाभान्वित हुने र कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने त्यसका लागि प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने निर्णय गरेको छ ।त्यसै गरी व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम दाङ,पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन गर्ने र त्यसबाट७ हजार किसानहरु लाभान्वित हुनेछन् ।

यसका लागि कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने र यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुनेछ । त्यस्तै कोभिड —१९ का कारण विदेशबाट फर्केका युवाहरुका लागि व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम संचालन गर्ने र यस कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने भएको छ ।यसैगरी प्रदेशका १ सय ९ वटै पालिकामा व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने र त्यसका लागि प्रति किसान २० हजारका दरले सहयोग गर्ने त्यसबाट १० हजार ९ सय लाभान्वित हुने लक्ष्य राखिएको छ । त्यस्तै ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड रुपैंयाँ २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने र त्यसबाट ६ हजार लाभान्वित हुनेछन् । त्यसै गरी दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने निर्णय समेत गरेको छ ।त्यसै गरी बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया सबै जिल्लामा सञ्चालन गर्ने,२० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गरी प्रति बिघा २० हजार रुपैंयाका दरले दिने र सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यसै गरी बैठकले प्रदेश स्वास्थ्य नीति—२०७७, स्वास्थ्य नियमावली २०७७स्वीकृत गर्ने निर्णय समेत गरेको छ त्यस्तै रोल्पामा वम विष्फोटमा मारिएका चार बालबालिकाका परिवारलाई १ लाख रुपैंयाका दरले राहत दिने,केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक २०७७ प्रदेशसभा समक्ष पेश गर्न स्विकृति दिने,जेठ ९ गते प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको छ ।त्यस्तै नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँकेमा क्वारेन्टाइनमा बस्नेहरुका लागि विशेष व्यवस्था गर्ने, त्यसका लागि क्वारेन्टाइन व्यवस्थापन निर्देशिका तयार गरी कार्यान्वयन गर्ने,कोरोना विशेष अस्पतालको क्षमता बढाउने,बाँकेमा डेण्टल अस्पताल र सैनिक अस्पतालमा १ सय बेड आइसोलेसन तयार गर्ने निर्णय गरेको छ ।त्यसै गरी बुटवलमा २ सय बेड थप्ने र भैरहवाको भीम अस्पतालमा १ सय बेड थप्ने, बाँके, बुटवल र भैरहवामा बिरामीको चाप भएकाले तत्काल राख्न नसकिएको अवस्थामा दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा विरामी पठाउने,विरामीको चापलाई ख्याल गर्दै तौलिहवास्थित कपिलवस्तु बहुमुखी क्याम्पसमा आइसोलेसन बेड तयार गर्ने र त्यसको स्वास्थ्य उपचार व्यवस्थापन तौलिहवा जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेश सल्लाहकार शेर बहादर केसीले बताउनुभयो ।