डिल्लीराज पाण्डे विराज । दुइ कौडीको खेल ,ए हली दाइ ,गोरू फुकाई ,जोताराले बांधेर ल्याऊ ,सामन्ती सांढेलाई।माथिका हरफहरू जननेता मदन भण्डारीका हुन् । त्रिशुलीमा धेरै पानी बगिसकेको छ सँगै आँसु , पसिना र रगत पनि । कहाँ गए ति सपना, वाचा र प्रतिबद्धताहरू । शोकले अझै पनि आँखाका गहहरू डब्डबाँउछन् । सँगै वर्तमानको कुरूप दृश्यले आक्रोशको ज्वाला जल्दछ । मदन कै सहयात्री प्रधानमन्त्री छन् र उनकै पत्नी राष्ट्रपति छन् । प्रष्ट बहुमत सहितको सरकार छ ।दासढुंगा बारेमा चुँसम्म बोल्दैनन् , सिन्को भाँच्दैनन् । मदन भण्डारीका नाममा फाउण्डेशन खोल्नुछ ब्यापार गर्नुछ बस , धिक्कार तिम्रो पद र प्रतिष्ठालाई । दुनियाँलाई थाहा छ , रूपमा तिम्रा गालाहरू राता पिरा त देखिन्छन् किन्तु सारमा तिमीहरूका खुट्टाहरू लुला भैसकेका छन् । अझै पनि बाँकी छ ढोंग लुला हातहरुले लालसलाम गर्ने भो नछोउ तिम्रा अपवित्र हातहरूले मदन आश्रितको तस्वीरलाई । एकपटक आफ्नो अनुहार ऐनामा हेर राता पिरा तिम्रा गालाहरू त्यसै भएका होइनन् । बाहिर तिम्रो घरको बगैंचामा गएर हेर फुल त्यसै मगमगाएको होइन । गाडी,घोंडा र तिम्रो चकाचौंध जीन्दगी फोकटमा आएको होइन । तिमीहरु त सम्पन्न भयौ तर। देश र जनताको हालत हेर ।
जनताका हातहरू जसले रहस्यमय दासढुंगा काण्डको विरूद्धमा सत्य तथ्य पत्ता लगाउने माग सहित रत्नपार्कका रेलिंगहरू तोडेको थिए । ती हातहरूलाई कुनै पश्चाताप या ग्लानी छैन किनकी ती हातहरू कसैको खटनपटनमा खटिएका थिएनन् । कसैको फर्मान र आदेशमा होइन हृदयबाट उठेका थिए ।आफ्ना प्यारा नेताहरू गुमाउदाको पीडा र आक्रोशमा उठेका थिए ।
मुखिया साहेबहरूले मदन -आश्रितको हत्यारा पत्ता लगाउने कुरा त कता हो कता बरू उनको अभावमा महाकाली सन्धि र पार्टी विभाजन गरे । अहिले सामाजिक सन्जालमा फटफटाउनेहरूले आफ्ना नेताहरूलाई सोध्नु पर्ने धेरै प्रश्नहरु छन् । सत्य तितो हुन्छ , राष्ट्रियताका मामलामा महेन्द्र , मरिचमान , वीरेन्द्र , ज्ञानेन्द्र भन्दा पुड्का देखिएका छन हालका नेताहरू । जननेता मदन भण्डारी विनाको तत्कालीन् एमालको जीवनमा कयौं धर्साहरू कोरिए जसका प्रमुख खेलाडी थिए माधव र केपी । दासढुंगा रहस्यमय घटना पश्चात् त्यसको सत्य तथ्य पत्ता लगाउन पार्टीले गठन गरेको आयोगका प्रमुख थिए ओली पार्टी नेतृत्वमा थिए माधव तर माखो मारेनन् दासढुंगा मामलामा यी दुबै जना आजसम्म पनि मै चुप तैं चुप छन आखिर किन ? लाखौं इमान्दार कार्यकर्ताहरूले यो प्रश्न गर्नु पर्छ कि पर्दैन रु यदि पर्दैन भन्ने कसैले ठान्दछ भने त्यो च्ब्ध् र ऋक्ष्ब् को एजेण्ट हुनुपर्छ । कसैले फ्याँकेको हण्डी खाएको हुनुपर्छ ।ब्यक्तिगत स्वार्थमा डुबेको हुनुपर्छ ।नक्कली अनुशासनको दाम्लामा बाँधिएको हुनुपर्छ यात केही पनि हुँदैन भनेर निराशामा डुबेको हुनुपर्छ ।अधिकाँश कार्यकर्ताहरू केही पनि हुँदैन भन्दै मौन बसेको देखिन्छ र यो मौनता मृत्यु हो ।अब साँचो अर्थमा मदन-आश्रित प्रतिको सम्मान र समवेदना भनेको लाखौं कार्यकर्ताहरूले नेताहरूलाई घेराबन्दी गर्नु हो । सत्य तथ्य पत्ता लगाउन दबाव दिनु हो ।आजसम्मका कर्तुतहरू उनीहरू कै मुखबाट झार्नु हो । नाटक मन्चन एउटा कुरा हो किन्तु महाकाली सन्धिका बफादारहरू लिम्पियाधुरा र लिपुलेकको सन्धर्वमा सार्थक आवाज उठाउँछन भन्ने कुरा आफैमा सफेद झुठ हो । पार्टीमा महाकाली सन्धिका पक्षमा बहुमत पुर्याउन विरामी अध्यक्ष विना बैठक र अध्यक्षको भोटिंग अधिकार समेत अर्को वैकल्पिक ब्यक्ति मार्फत् गरी महाकाली सन्धिको पक्षमा बहुमत पुर्याइयो ।
त्यतिबेला पार्टी अध्यक्ष मनमोहन अधिकारी समेत महाकाली सन्धिको विपक्षमा रहेका समाचारहरू बाहिर आएका थिए । मात्र एक मतको अन्तरले महाकाली सन्धि पास गर्ने निर्णय गरियो संसदमा समेत यस्तै नाटक गरियो ,बहुमत पुग्ना साथ मध्यरातमा महाकाली संन्धि पास गरियो । च्ब्ध् र ऋक्ष्ब् का एजेण्टहरू कहाँ र कति मात्रामा छन् एकपटक सोच्न र यिनीहरूलाई धुलो चटाउन जरूरी छ । तिमीहरु त्यो निर्णायक ठाउँमा थियौ जसले त्यो सन्धिलाइ असफल पार्न सक्थ्यो तर तिमीहरूले हिम्मत गरेनौ किनकि दासढुंगा हत्याकाण्ड संगै तिमीहरूका खुट्टाहरू लुला भैसकेका थिए ।डरपोक र लाछिहरूले जबजलाइ केवल सत्तामा जाने र टिक्ने माध्यम बनाए जबजको अन्तर बस्तुको हत्यारा अरू कोही होइन खुद तिमीहरू नै हौ । सबैभन्दा पहिले यो समान्य कुरा याद राखौं कि हामी वर्तमानमा छौं । यही वर्तमानले देश र जनताको भविष्य देख्नुपर्दछ ।सबै कुरा हिंजोको सरकारको गल्ती औंल्याएर हामी चोखिन मिल्दैन । हिंजोका राज्यसत्ता सन्चालकहरूले राम्रो गरेको भए आजको देशको अवस्था यस्तो हुने थिएन ।गल्तिहरू मात्रै उधिन्ने हो भने सबैभन्दा ठुलो कलंकको टिका तिम्रै निधारमा छ ।
महाकालीमा धेरै पानी बगिसकेको छ सँगै आँसु , पसिना र रगत पनि ।हामी नेपालीहरू केही हदसम्म बामदेव जस्तै छौं उफ्रिने उफ्रिने र फेरी थच्चिने ।छिट्टै भुल्ने र हौसिने हाम्रो विस्वास भनौ या मूर्खताले पटक पटक धोका बाहेक अरू केही दिएन ।आफ्ना अपराध या कमजोरी लुकाउन अर्काका कमजोरी र अपराध देखाउने प्रवृत्ति यतिवेलाको सबैभन्दा ठूलो भाइरस हो ।यो दुइ कौडीको खेल कसको खटन पटन र चुलो चौकोमा काम गर्दैछौ कामरेडहरू यो दुइ कौडिको खेल १ नपुंसक सत्ताको जुवा , यो तमासा बन्द गर १ जुन श्री आएपनि माछो-माछो भ्यागुतो आज मल्ल युद्धमा छौ ,जसको देश र जनतासंग कुनै साइनो छैन । यदुवंशी हुने लाइनमा छौ । अपराध र भ्रष्टाचारका मामलामा तिम्रो निधार ओभानो छैन ।नेपालमा परिवर्तन तिमीहरूको विर्ता होइन ।एउटा कालखण्डमा तिमीहरूले गरेको योगदानको बदलामा आज ब्याज सहित असुल मात्र गरेका छैनौ , देशलाई एम्बुसमा पारेका छौ । भ्रष्टाचार ,चाकडी , अपराध राष्ट्रघात ,गुटवन्दी र अराजकताको एम्बुस । परिवर्तन खोज्ने नै हो भने तिमीहरू अभिभावक भएर बस । नयाँ पुस्तालाई पार्टी र सरकार दुबैको जिम्मा देऊ । बिसौं हज्जार जसलाइ चिहानमा पठाइएको थियो भोलि जवाफ लिएर तिमीहरु त्यहाँ जानुपर्ने छ , तिनीहरु तिम्रो प्रतिक्षा गरिरहेका छन् याद राख ।तिम्रो अस्तिपन्जरले समेत चिहानमा ठाउं नपाउन सक्छ त्यो बेला चिहानबाट समेत मिल्किनु पर्ला ।









