अहेबको गलत उपचारले शिशुको मृत्यु भएको भन्दै छानवीन माग

प्रकाशित मिति:

२३ जेठ, बुटवल । पाल्पाको विकट ग्रामीण क्षेत्र रैनादेवी छहराको जुठापौवामा अहेबको गलत उपचारका कारण तीन महिने शिशुको ज्यान गएको भन्दै स्थानीयले छानवीन गर्न माग गरेका छन् । रैनादेवी छहरा–६ चहलाका खुमबहादुर र डाली सोमरे मगरका तीनमहिने शिशुलाई निमोनियाको उपचारका लागि गाउंकै मालिका हेल्थ क्लिनिकमा लगिएकोमा आधा घण्टा निबुलाइज (बाफ लगाइदिएको ) कारण मृत्यु भएको र शबको पोष्टमार्टम समेत नगरी गाडिएको भन्दै स्थानीयले छानवीनको माग गरेका हुन् । निमोनियाको समस्या भएका शिशु हांस्दै खेल्दै गरेको सामान्य अवस्थामा रहेकामा क्लिनिकमा अहेब विनोद पौडेलले आधा घण्टा जति बाफ लगाइदिंदा छटपटाएको र बेहोश बनेको अभिभावकको भनाई छ । बच्चा छटपटाएपछि आफूहरुले ‘निबुलाइज’ नगर्न भन्दा अहेबले ‘म डाक्टर कि तिमीहरु डाक्टर ?’ भन्दै हप्काएको र एक घण्टापछि (दिउंसो ४ बजे) बच्चा होशमा आउंछ लिएर जानुस् भनेर पठाएको उनीहरुले बताए । बच्चा एकघण्टापछि होशमा आउंछ, बाटोमा कसैलाई केही नभनी छिटो घर जानुस् भनेका थिए, तर बाबु ४ बजेसम्म पनि होशमा नआएपछि बाटैबाट फर्केर क्लिनिक जांदा बन्द थियो’–खुमबहादुरले भने–‘बच्चाको ज्यान क्लिनिकमै गएको रहेछ, हामी सोझा मान्छेलाई एक घण्टापछि होशमा आउंछ भनेर झुक्काएर घर पठाइयो ।’

क्लिनिक बन्द भइसकेकाले नजिकैको स्वास्थ्य चौकीमा जांदा त्यहांका स्वास्थ्यकर्मीले बच्चाको जयान गइसकेको बताएका थिए । आफूहरु शुरुमा चहलामै अहेब विनोदका बुबाको औषधि पसलमा बच्चालाई जंचाउन जांदा छोराकोमा लैजान रिफर गरेकाले स्वास्थ्य चौकीमा नलगी क्लिनिकमा लगेको खुमबहादुरले बताए । उनले अहेबले गलत उपचार गरेकाले बच्चाको ज्यान गएकाले घटनाको छानवीन र पीडित परिवारलाई न्याय दिनुपर्ने माग गरे । बच्चाको मृत्युपछि रातभर शबलाई गाउंकै विद्यालयमा राखिएको र बिहान ५ बजे नै हतार हतार गाडिएको थियो । स्थानीय युवा हिमाल पाण्डे लगायत केही व्यक्तिले मृतक शिशुको शबको पोष्टमार्टम गर्नुपर्ने माग गर्दागर्दै बेवास्ता गरेर एका बिहानै गाडिएको हुंदा उपचारमा लापरवाही भएकाले गल्ती ढाकछोपका लागि यसो गरिएको भन्ने शंका उब्जेको बताए । घटनाबारे स्थानीय प्रहरी चौकीमा निवेदन दिन जांदा निवेदन समेत नलिइएको स्थानीय युवा हिमाल पाण्डेले बताए । अहेब विनोदकी आमा कार्यपालिका सदस्य र वडा सदस्य समेत रहेकी र वडा अध्यक्ष, गाउंपालिका अध्यक्ष एउटै पार्टीका व्यक्ति भएका कारण शक्तिको चलखेल गरेर घटनालाई दबाउन खोजिएको स्थानीयको आरोप छ ।

अहेब पौडेलले भने निमोनियाका कारण बच्चा नाजुक अवस्थामा क्लिनिकमा आइपुगेको र आफूले ४ मिनेट २७ सेकेण्ड मात्र ‘निबुलाइज’ (बाफ दिएर उपचार ) गरेको बताए । ‘तीन महिनाको बच्चालाई आधा घण्टासम्म निबुलाइज गर्न हुन्न भन्ने मलाई पनि थाहा छ, मैले आधा घण्टा हैन, ४ मिनेट २७ सेकेण्ड मात्र गरेको हुं’–विनोदले भने–‘बच्चाको नाजूक अवस्था देखेपछि मैले ९० प्रतिशत आशा छैन,१० प्रतिशत मात्र आशा गर्नुस् भनेको हुं, उहांहरु जानुभयो, अर्को दिन आफै शब गाड्नुभयो तर दुई दिनपछि अरुको उक्साहटमा लागेर बखेडा झिक्नुभयो ।’ आफू पुर्व निर्धारित कामले ५ बजे क्लिनिक बन्द गरेर बुटवल गएको तर गल्ती गरेर भागेको भन्ने गलत प्रचार गरिएको बताए । वडा सदस्य निर्मला पौडेलले बच्चाको मृत्युको घटनालाई मृतकको अन्त्येष्टी गरिसकेपछि राजनीतिकरण गरिएको बताइन् । उनले निष्पक्ष छानवीन गर्ने विषयमा कसैको विमति नरहेको बताइन् । उनले आफूसंग चुनावमा हारेका व्यक्तिको उक्साहटमा झुठो प्रचार गरेर आफूहरुलाई बदनाम गर्न खोजिएको दावी गरिन् । स्थानीय चन्द्रबहादुर सोमरे मगरले मृतक बच्चाका अभिभावक अशिक्षित,सोझा र विपन्न भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएकाले न्याय पाउनेमा शंका रहेको बताए । ‘गरीबको पक्षमा कोही बोल्दैनन्’–उनले भने–‘हामी जस्ताले न्याय कसरी पाउने ?’