सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं १ असार, । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टिनहरु मापदण्ड अनुसार व्यवस्थित नभएकोलगायतका विषयलाई लिएर प्रदर्शन गरेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए । सोमबार काठमाडौंको विजुलीबजारबाट ¥यालीसहित नयाँ वानेश्वर पुगेको नेविसंघको टोलीले त्यहाँ कोणसभा गरेको थियो ।

र्‍यालीका सहभागीले कोरोना महामारी नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने, विदेशमा अप्ठेरामा परेकाहरुको उद्धार गर्नुपर्ने, मजदुरलाई राहत दिनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका थिए ।कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको र आर्थिक अनियमिततामा नै केन्द्रित भएकाले खबरदारी गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए । र्‍यालीपछि कोणसभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले बजेटमा ल्याएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्न र रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेका थिए ।