गजल रचना : पूर्ण भण्डारी “पवित्रदीप”
धरधरी आँशु झर्छन रुन्न भनेपनि ।
अझै कोशिस गर्दैछु म हुन्न भनेपनि ।।
पिरतिका फुलहरु सिमलेर दिएँ ।
थुङ्गा पनि च्यात्न खोज्यौ उन्न भनेपनि ।।
बन्द गर याद आउने मुहानहरु भन्छिन् ।
बरु कुलो खन्न मन छ थुन्न भनेपनि ।।
मसँगै रहिनन्, मेरी भइनन् भने उनी ।
कवै कोही रोज्ने छैन चुन्न भनेपनि ।।
उनले दिएको जाले रुमाल मैलिसकेको छ ।
फाट्छ लाग्छ, धुनै पर्छ धुन्न भनेपनि ।।
मनका कुरा नखोले नि बोल्न नछोड न ।
बाँच्छु कि म त्यो आवाज सुन्न भनेपनि ।।
तिरस्कृत भो पवित्रदीप, उनी पुरस्कृत ।
जादू गर्नुछ माया जाल बुन्न भनेपनि ।।










