काँग्रेस नेता थापाको निष्कर्ष : गृहमन्त्री ‘बादल’को क्षमता माथि ‘कालो बादल’ लागेको छ
कञ्चनपुर , मंसिर ५ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमा रहेसम्म कञ्चनपुरका १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण निश्कर्षमा नपुग्ने दाबी गरेका छन् । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस कञ्चनपुरले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले उक्त कुरा बताएका हुन् ।
‘आफुले संसदमा गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको बताएको भन्दै नेता थापाले भने–‘एक(डेढ महिनायता एकपछि अर्को गरी भइरहेका घटनाहरुमा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’ उनले थपे ‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन , पानी नपरुन्जेलसम्म समाजका फोहोरहरु सफा हुँदैनन् ।’
‘ गृहमन्त्री बादलले जिम्मेवारीबाट हटेर राजनीतिक पुर्वाग्रह नराखेर आम रुपमा जनतालाई फेरी पनि यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माणका निम्ती माग गर्दछु ।’ थापाले भने–‘उहाँ ९बादल० का निम्ती निजी दुखद घटना होला तर आम रुपमा जनताको विश्वास जोडिने अवस्था आउँछ ।’
कार्यकर्तासितको भेटघाटपछि सोझै निर्मलाका बुवाआमा भेट्न जिल्ला प्रशासन कार्यालय अगाडीको धर्नास्थल पुगेका नेता थापाले सरकारको नेतृत्व गरिरहेकाहरुबाट बालिका हत्या प्रकरण हलुका ढंगले लिएको आरोप भनाई राखे । निर्मलाको न्यायका निम्ती सरकार र प्रतिपक्षदलको नेतृत्वसित भेटेरै कुराकानी गर्ने थापाले आश्वासन दिए ।












