काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि बुद्धिजीवीहरुमाथि कडा प्रहार गरेका छन् । ओलीले केही बुद्धिजीवीको टिप्पणी अत्यन्तै असभ्य र तल्लो स्तरको रहेको भन्दै बोलीमा नियन्त्रण ल्याउन चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट प्रसारित कार्यक्रम जनतासंग प्रधानमन्त्रीमा प्रधानमन्त्री ओलीले जथाभावी बोलेर बुद्धिजीवीहरुले अल्पज्ञानी रुप प्रस्तुत गरेको आरोप लगाएका हुन् ।
ओलीले असभ्य टिप्पणी गर्नुभन्दा पहिले आफूसँग एक पटक सत्य तथ्यका बारेमा जानकारी लिन पनि आग्रह गरेका छन् ।
उनले त्यस्ता बुद्धिजीवीहरुको हैसियत राम्रोसंग बुझेको समेत बताए । ओलीले संचारमाध्यमसंग जथाभावी बोलेर स्थिति नबिगार्न उनले आग्रहसमेत गरेका छन् । उनले त्यस्ता अल्पज्ञानी बुद्धिजीवीहरुका बारेमा जवाफ दिँदा उल्टै उनीहरु थला पर्ने समेत बाताए । कार्यक्रममा स्पष्टसंग उनले भने, ‘मसँग एकपटक उहाँहरूले वादविवाद गर्न अथवा मसँग सत्यहरूको सम्बन्धमा बहस गर्ने इच्छा गर्नुभएको हो कि होइन उहाँहरूलाई सोध्न चाहन्छु उहाँहरूका अलिकति असलियत बाहिर आउँदा के हुन्छ अलिक विचार गरे हुने हो ।
सरकारकै भत्ता पेन्सन खाने सुविधा लिने व्यक्ति नै गैरजिम्मेवार ढंगले बोल्ने र गोपनीयताहरूको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झूटो प्रचार गर्ने प्रवृत्ति देखिएको भन्दै उनले भने, ‘म अत्यन्त अपमानजनक ढंगले जवाफ दिइरहन चाहन्नँ तर, उहाँहरूलाई म सोध्न चाहिँ चाहन्छु, म पनि जवाफ दिऊँ । प्रधानमन्त्री ओलीले एसिया प्यासिफिक सम्मेलनमा पुरस्कृत भएको विषयलाई लिएर आक्रामक भएका हुन् । कसैले पुरस्कारलाई किनेको जस्तो भनेको र कसैले पारिश्रमिक लिएको जस्तो देखिएको भनेर अत्यन्त गैरजिम्मेवार ढंगले प्रतिकृया दिएको भन्दै ओलीले यस्तो गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिएका हुन् ।
यसअघि पनि प्रधानमन्त्री ओलीले नेपालका बुद्धिजीवीहरु निकै कमजोर भएको टिप्पणी दिएका थिए । सरकारले कुनै पनि एनजीओ र आइएनजीओको कार्यक्रममा आयोजकको हैसियतले पेश हुनु गलत भएको टिप्पणी आइरहँदा ओलीले कसैलाई पनि विरोध नगर्न चेतावनी दिएका हुन् । सरकारले आफै बनाएको नियम ओली नेतृत्वको सरकारले तोडेको हो । दुई तिहाइको सरकारले गर्ने कामको कसैले पनि विरोध नगरोस् भन्ने चाहना राख्दा ओली सरकार एक्लिने सम्भावना बढ्दै गएको छ । प्रधानमन्त्री ओली एसिया प्यासिफिकको कार्यक्रमका लागि भन्दै तीन दिनसम्म सोल्टी होटलमै सबैभन्दा महंगो कोठा प्रिसिडेन्सियल सुइटमा बसेका थिए । राज्यकोषको चरम दुरुपयोग गर्दासमेत ओली सरकारको नकारात्मक सूचना बाहिर नआओस् भन्ने उनी चाहन्छन् । ओलीले आफ्ना लागि राखेका सल्लाहकार कत्तिको विज्ञ छन् त भन्नेसमेत ख्याल राखेको भए हुन्थ्यो भनी एक विज्ञले कडा टिप्पणी गरेका छन् । उनले आफूबाहेक कोही बुद्धिजीवी छैन भन्ने भ्रम प्रधानमन्त्री ओलीले पालेको आरोप लगाए ।












