प्रधानमन्त्रीको वुद्धिजिवी लक्षित अभिव्यक्तिप्रति प्रजातान्त्रिक विचार समाजको आपत्ति
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकार नियन्त्रित टेलिभिजनको एक कार्यक्रममा बुद्धिजिवी वर्गप्रति लक्षित गरी दिएको अभिव्यक्तिमा प्रजातान्त्रिक विचार समाजको गम्भीर ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री भनेको कुनै निश्चित पार्टीबाट निर्वाचित भएपनि मुलुकको सबै वर्ग, समुदाय, भाषा, लिंग, दललगायतको साझा व्यक्तित्व भएकामा कुनै दुई मत छैन । तर प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै सम्माननीय प्रधानमन्त्री केपी ओलीबाट भिन्न विचार र विमतीप्रति हुँदै आएको अभिव्यक्तिले सिंगों संस्थाकै गरिमामा आँच पु¥याउन थालेको हामीलाई अनुभूति हुन थालेको छ । संवैधानिक हैसियत र अधिकार प्राप्त राज्यको कार्यकारी भूमिकामा रहेका प्रधानमन्त्रीबाटै समाजमा द्वन्द्व निम्त्याउने खालका टिप्पणी र धारणा आउनु दुःखद रहेको छ । नेपाली जनताको सात दशक लामो संघर्ष र बलिदानीबाट प्राप्त खुला र पारदर्शी व्यवस्था विपरित, आफूले गरेको, बोलेको र लिएको निर्णय नै अचूक हुन्, कसैले पनि प्रश्न उठाउन पाउँदैन भन्ने खालको अभिव्यक्ति स्वयं प्रधानमन्त्री र मन्त्रीहरुबाट पटक पटक आउने गरेको छ, जुन उत्तरदायी शासन व्यवस्थाको मर्म र भावना विपरित रहेको छ ।












