शेखर र गगनले गराए दुई कम्युनिष्ट प्रभावशाली नेतालाई पार्टी प्रवेश

प्रकाशित मिति:

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई प्रभावशाली नेताहरुले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार मोरङ जिल्लाको क्षेत्र नं ३ मा कांग्रेसले आयोजना गरेको आमसभामा नेकपाका नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । तत्कालीन एकीकृत माओवादीका केन्द्रीय सदस्यद्धय रामकुमार न्यौपाने र मित्रसेन योञ्जनसहित पाँच सय बढी नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको मोरङ कांग्रेसले जनाएको छ । नेकपा छाडेका उनीहरुलाई कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले पार्टीको सदस्यता दिएका हुन् । डा कोइरालाले नेकपा छाडेका नेता तथा कार्यकर्ताहरुलाई टीका लगाएर कांग्रेसमा प्रवेश गराएको जनाइएको छ ।

नेकपा छाडेर कांग्रेस प्रवेश गरेका उनीहरुलाई केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले स्वागत गरेका हुन् ।नेकपा छाडेका उनीहरुले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अधिनायकवाद सहन नसकेर आफूहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा।शेखर कोइरालाले कांग्रेसले संगठन सुदृढीकरणमा जोड दिने बताए । उनले कांग्रेसप्रति जनताको माया रहेको भन्दै नेता तथा कार्यकर्ताहरु आत्तिन नहुने बताए ।कांग्रेसका युवा नेता गगन थापाले नेकपामा वितृष्णा पैदा भएको बताए । थापाले कांग्रेसभित्र रहेको गुट उपगुट अन्त्य गर्नुपर्ने समेत बताए ।