वी पीको शैक्षिक अभियानले आज देशभर शैक्षिक संस्थाहरुको स्थापना भयो : डा चन्द्र भण्डारी

प्रकाशित मिति:

रमेश विश्वकर्मा  गुल्मी, पौष ५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता डा चन्द्र भण्डारीले वीपी कोईरालाको शैक्षिक अभियानले आज देशभर शैक्षिक संस्थाहरुको स्थापना भएको बताउनु भएको छ । बिहीबार छत्रकोट गाउँपालिका वडा नं १ हुँगा स्थित श्री जन जागृति माध्यमिक विद्यालयले आफ्नो ५० औं वर्षको अवसरमा आयोजना गरेको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले बीपी कोईरालाले परिकल्पना गरेको शैक्षिक विकासको अभियानलाई सफल बनाउन २०४६ सालको राजनितीक परिवर्तन पछि विभिन्न समयमा बनेको नेपाली कांग्रेसको सरकारले महत्त्वपूर्ण योग्दान गरेको बताउनु भयो ।

शिक्षकहरुले विद्यालयमा विद्यार्थीहरुलाई जति राम्रो पढाउने गर्दछन त्यति नै शिक्षकको सम्मान हुने गर्दछ । त्यसकारण विद्यालयमा शिक्षकहरुले विद्यार्थीलाई राम्रोसंग पढाउन आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो मैले राजनीति ५ वर्षको एकपटक मात्र गर्छु, त्यो पनि चुनावको समयमा मात्र अरु समयमा मैले सम्पुर्णलाई आफ्ना दाजुभाइ सम्झेको छु, यो ठाउँको विकासको लागि सधै यहाँहरुको साथमा छु । विकास काम गर्दा सबैलाई पहुँच पुग्ने गरि सबैलाई समान रुपमा हेरेको समेत उहाँले बताउनु भयो । हामी सरकारमा छँदा विकासका योजनाहरु हाम्रो जिल्लामा जति हुन्थ्यो अहिले कुनै पनि विकास निर्माणका योजनाहरु जिल्लामा नभएको भन्दै नेता भण्डारीले दुस्ख व्यक्त गर्नुभयो ।

पुराना नेताहरुलाई अभिभावकत्व ग्रहण गरि युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गरेमा मात्र देशले निकास पाउने बताउनु भयो । सोहि अवसरमा नेता भण्डारीले पाँच लाख बरावरको अक्षयकोष स्थापना गर्नुभएको छ । उक्त अक्ष्यकोषबाट उत्कृष्ट पत्रकार, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यार्थीको स्वास्थ्य उपचारको लागि छात्रवृत्ति प्रदान गरिने छ ।  पाँच दिन सम्म चलेको उक्त स्वर्ण महोत्सवमा अक्षयकोष सहित ४० लाख रकम संकलन भएको छ ।