काठमाडौं – नेपाली कंग्रेसले महासमिति बैठकमा आजदेखि विधान मस्यौदामाथि छलफल शुरु भएको छ । पदाधिकारीको विषयमा शीर्ष तहमा सहमति भएर केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमिति बैठक शुरु भएको ८ दिनपछि आजबाट विधानमा छलफल शुरु भएको हो । पदाधिकारी संख्या, निर्वाचन प्रणाली लगायतमा शीर्ष नेताहरुबीच विवाद चुलिएपछि गत शनिवार सुरु भएको महासमिति बैठक अनिर्णयको बन्दी बनेको थियो । केन्द्रीय समितिले अनुमोदन गरेको विधानमा १४ सदस्यीय पदाधिकारी राख्ने र कोषाध्यक्ष बाहेकका पदमा निर्वाचन गर्ने उल्लेख छ ।
महासमिति बैठकमा आजदेखि विधानको मस्यौदाबारे छलफल शुरु भएको प्रवक्ता विश्व प्रकास शर्माले जानकारी दिनुभयो । यस्तै राजनीतिक प्रस्ताव, सांगठनिक संरचना, र लेखा प्रतिवेदनमा सदस्यहको धारणालाई समावेश गरि परिमार्जन सहितको दस्तावेज सम्वन्धित संयोजकलाई हस्तान्तरण गरेको शर्माले बताउनुभयो । एक जना सभापति र कोषाध्यक्ष, २–२ जना उपसभापति र महामन्त्री तथा ८ जना सहमहामन्त्री रहने कांग्रेसमा केन्द्रिय कार्यसमिति भने १ सय ६७ सदस्यीय हुनेछ । जसमा ३३ जना सभापतिले मनोनयन गर्ने विधानमा उल्लेख छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेक सबै पद महाधिवेशनबाट चयन हुनेछन् । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा जारी महासमिति बैठकले विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसंग गतवर्ष भएको एकतालाई समेत अनुमोदन गरेको शर्माले बताउनुभयो । विधानमाथिको छलफल सकेर महासमिति बैठक भोली समापन गर्ने तयारी भएको कंग्रेसले जनाएको छ । पुस ४ गतेसम्म भनिएको महासमिति बैठक विधानकै कारण लम्विएको छ । महासमिति बैठक लम्बिँदा जिल्लाबाट आएका ४० प्रतिशत प्रतिनिधिहरु भने घर फर्किसकेका छन् ।












