दुर्घटना न्यूनिकरणका लागि चालक सहचालक प्रशिक्षणलाई पश्चिम नेपालले दियो तिब्रता

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल, १९ भदौ । झण्डै २५ सय बस ब्यबसायीहरु आवद्ध रहेको एवं ७ हजार ५ सय यातायात मजदुरहरुलाई रोजगारी प्रदान गर्न सफल पश्चिम नेपाल बस ब्यबसायी प्रालिले दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापन प्रशिक्षणलाई तिब्रता दिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालक तथा सहचालकहरुका लागि आवश्यक प्रशिक्षण र उनिहरुको स्वास्थ्य परिक्षण पनि आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । चालकहरुलाई समय अनुकुल आवश्यक निति, नियम र ज्ञानसहित उनिहरुको तनाव ब्यबस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरामा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुले जोड दिएका छन् । सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन सम्बन्धि अभियानलाई निरन्तर तिब्रता दिएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिको आयोजनामा सम्पन्न चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा सहभागि बक्ताहरुले चालकहरुले आफ्नो स्वभाव र ब्यबहारमा परिवर्तन ल्याउनु पर्ने खाँचो पनि औंल्याए ।

प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक सोभा पाण्डेले सवारी चालकहरू जिम्मेबार हुनुपर्ने कुरामा जोड दिईन् । सवारी चालकहरुले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गर्दै निरिक्षक पाण्डेले सभ्य भाषा नम्र बोलीसहितको सेवानै अचुक औषधि भएको बताउदै उनले अपांग र आरक्षण सिट कार्यान्वयन गर्र्नुपर्नेमा जोड दिइन् । अधिकांस सवारी साधन फोहोर हुने गरेको भन्दै उनले आफुले दिनभर र रातभर चलाउने गाडी सफा छैन भने चालकको मनस्थिति कसरी सफा हुनसक्छ भनि प्रश्न गरिन् ।पश्चिम नेपाल बस ब्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेलले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै बर्षेनी हुने धनजनको क्षति समेत कमगर्न सकिने बताए । सार्वजनिक सवारी साधन प्रयोगकर्ता सबैपक्ष जिम्मेबार हुनुपर्ने कुरामा जोड दिदै अध्यक्ष खरेलले नियमनकारी निकायपनि कतिपय अवस्थामा सामाजिक र ब्यबहारिक पक्षबाट दृष्टिकोण बनाउनु पर्ने बताए ।

कार्यक्रममा सुरक्षीत यात्रा नेपालका अध्यक्ष तथा यातायात मजदुर नेता कृष्णप्रसाद बेलबासेले चालक तथा सहचालकहरुले यात्रुहरुसँग नम्र ब्यबहार गर्नुपर्ने जोड दिदै दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनका लागि प्रा लिले जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए । पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक तथा सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापनका संयोजक नारायणप्रसाद घिमिरेले सवारी चालक तथा सहचालकहरुले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्री, अधिकारकर्मी रीमा बिसी लगाएतले बढ्दो दुर्घटना न्युनिकरण र सरोकारवालाको भुमिकाबारे चर्चा गरेका थिए ।