काठमाडौं : इजरायल विद्रोही समूह हमासले आक्रमण गर्दा मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये ५ जनाको शव पहिचान भएको छ। पहिचान भएका ५ शव तीन दिनभित्र नेपाल पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।दूतावासका अनुसार घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टका शव पहिचान भएको छ।
हमासको आक्रमणमा मारिएका सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाँचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा र शारदा–३ सल्यानका प्रवेश भण्डारीको शव पहिचान हुन बाँकी छ। हमासको आक्रमणपछि बेपत्ता बनाइएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ। आक्रमणमा घाइते भएका ४ नेपालीमध्ये २ जना उपचाररत छन् ।












