काठमाडौं, कात्तिक – पूर्व क्षेत्रमा संचालित मैदा उद्योगहरु गहुँको अभावमा बन्द हुने अवस्थामा पुगेको बेला गहुँ आयात शुरु भएपछि उद्योगहरु पुनः सञ्चालनमा आएका छन्। उद्योग बन्द हुने अवस्था आएपछि नेपाल सरकारको आग्रहमा भारत सरकारले करिब ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा दिएपछि मैदा उद्योगहरु संचालन हुन थालेका हुन्। यस वर्षपर्याप्त गहुँ उत्पादन नभएको र गहुँको मुल्य बढ्न थालेकाले ट्रेडरहरुले गहुँ संचिति गर्न थालेपछि गहुँको अभाव हुन थालेको थियो।
विगत तीन महिना देखि गहुँ आयात हुन थालेको र अहिले सम्म करिब १ लाख मेट्रिक टन गहुँ आयात भईसकेको नेपाल फ्लोर मिल एशोसिएशनका केन्द्रीय सचिव विकास बेगवानीले जानकारी दिए। गहुँ आयात हुन थालेपछि अहिले ४४ रुपैया प्रति किलोमा स्थिर रहेको छ। गत वर्षयसै समयमा गहुँको मुल्य ६४ रुपैया प्रति किलो सम्म पुगेको थियो। गहुँको संचिती गर्ने प्रवृत्ति बढेपछि गहुँको मुल्य ४२ रुपैया प्रति किलोबाट बढेर ४७ रुपैया प्रति किलो सम्म पुगेको थियो। नेपालमा करिब ९ लाख मेट्रिक टन गहुँ आवश्यक पर्नेमा करिब ३ लाख मेट्रिक टन न्यून हुदै आएकोमा मैदा उद्योगीहरुले ३ लाख मेट्रिक टन गहुँ आयातको कोटा माग्न आग्रह गर्दै आएका थिए।












