अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस
काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसंघले सघाउने बताएका छन्।मंगलबार संर्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसंघले भूमिका खेल्ने बताए।नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ। ‘नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मुथ ट्रान्जिसन’का लागि संयुक्त राष्ट्रसङ्घले सहयोग गर्नेछ,’ उनले भने, ‘अहिले नेपालले अल्पविकसित मुलुकहरुको अध्यक्षता गरिरहेकोमा अरु देशका लागि पनि नेपालले चाल्ने कदमको महत्वपूर्ण अर्थ रहन्छ।’
नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी गतिविधिको प्रसंशा गर्दै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेनामार्फत् महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे।त्यस्तै जलवायु परिवर्तनका असर न्युनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उहाँको भनाइ छ। ‘जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन। संयुक्त राष्ट्रसंघले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं। राष्ट्रसङ्घ सहयोग गर्न तयार छ,’ उनले भने। संयुक्त राष्ट्रसंघ र नेपालबीच लामो समयदेखिको सम्बन्ध रहेको पनि उनले बताए।












