केबलकारलाई ढुवानी र यातायातको माध्यम बनाऔं : कुलमान

प्रकाशित मिति:

बुटवल, २ मंसिर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गरी पहाडी र हिमाली क्षेत्रमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उनले नेपाल जस्तो पहाड र हिमालको भू बनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताएका हुन् । शनिबार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको अवलोकनपछि पत्रकारहरुसंग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकारहरु सञ्चालन हुने संख्या बढ्दै जांदा यसले आन्तरिक विद्युत खपत समेत बढाउने बताए । पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महंगो पर्ने, ब्यापार घाटा बृद्धि हुने र वातावरण समेत प्रदुषित हुने भएकाले सरकारले केबलकारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

घिसिङले केबलकारहरुले नेपालमा पर्यटन प्रवद्र्धन,रोजगारी सिर्जनासंगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको बताए । ‘केबलकारले पर्यटनमा टेवासंगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको छ’–घिसिङले भने–‘पहाडका चुनखानीहरुबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरु सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ,त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ । सो अवसरमा घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रशारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न बसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिए । घिसिङले कामाख्यादेवी मन्दिरको दर्शन र पुजाआजा समेत गरे । केबलकारका स्टेसन म्यानेजर डिएन कायस्थ सैंजूले स्थानीयसहित आईएमई ग्रुपको मुख्य लगानी रहेको कूल ५ अर्ब लागतको लुम्बिनी केबलकारले प्रति महिना ६ लाख रुपैयां महशुल बराबरको विद्युत खपत गरिरहेको बताए । उनले केबलकारले स्थानीयलाई प्राथमिकता दिई करिब सय जनालाई रोजगारी दिएको र प्रत्येक टिकट दरको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकालाई सेवा शुल्क वापत बुझाउंदै आएको जानकारी गराए ।