वामपन्थी एकताको कुरा नगर्न ओलीको आग्रह

प्रकाशित मिति:

काठमाडौं, मंसिर – एमाले अध्यक्ष केपी ओलीले पार्टीका नेता कार्यकर्तालाई वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको पार्टी कार्यालय च्यासलमा जारी बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। आफूले राजनीति सुरु गर्दादेखि नै वाम एकताको माला जपिएको भन्दै उनले वामपन्थी एकताको पपुलिस्ट कुराले झनै नोक्सान हुने दाबी गरे। २०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै उनले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताए। एउटा एकता गर्दा दुईवटा फुट्ने दाबी उनले गरे।

‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन्। नगर्न म साथीहरूलाई आग्रह गर्छु। वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र रु मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको। वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ,’ उनले भने, ‘हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो। त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथ्यौं। काम गर्न सक्दैनथ्यौं। हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं। वामपन्थी एकताबिना परिवर्तन सम्भव छैन भन्दा राम्रो सुनिए पनि त्यो अव्यवहारिक भएको उनको भनाइ थियो। वामपन्थी एकता नै हुने भए एमालेको नीति, एमालेको संगठनको सुप्रिमेसीलाई स्वीकार गरेर मात्र सम्भव हुने उनले बताए।