विराटनगर, पुस ६ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरू फेरबदल गरेरै भए पनि परिणाम दिने गरी काम गर्ने भनाई राखेका छन्। प्रधानमन्त्री प्रचण्डले मोरङको मिक्लाजुङ–५ मा आमसभालाई सम्बोधन गर्दै उक्त भनाई राखेका हुन्। माओवादी केन्द्रले आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने पनि बताए। ‘प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिइने छ,’ उनले भने।
आफुले नयाँ प्रक्रियाबाट जनताका काम गर्ने भनाई समेत राखे। प्रधानमन्त्री प्रचण्डले लाभाखोला बृहत् खानेपानी योजना, चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि जनाए। यस्तै उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने समेत उनले बताए। सम्बोधनका क्रममा मोरङको पथरी शनिश्चरेको सुकुम्वासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने आश्वासन समेत प्रधानमन्त्रीले दिएका छन्।












