पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन्। पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको आज (शनिबार) उद्घाटन गर्दै उनले प्रदेश संरचना बेढंगको भएको दाबी गर्दै हटाउनुपर्ने बताएका हुन्। प्रदेश संरचनाको विकल्प सोच्न एक मिनेट पनि ढिला गर्न हुँदैन,’ उनले भने, ‘यो बेढंगको प्रदेश संरचना नेता पाल्ने, कार्यकर्ता पाल्ने, राज्य कोषको दोहन गर्ने एउटा माध्यम बनेको छ । यसको विकल्प तुरुन्त सोच्नुपर्छ कि यसलाई सच्याउनुपर्छ। प्रदेशले केही नेता र उनीहरुका आफन्तलाई जागिर दिने कामबाहेका केही नगरेको उनको भनाइ थियो। ‘सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चन्छन् तर यसले नतिजा दिँदैन,’ उनले भने, ‘त्यसकारण प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ भनेर एक पटक होइन आफूले धेरै पटक भनिसकेका छौ।’
सुशासनका सन्दर्भमा रास्वपा निर्मम भएर लाग्ने सभापति लामिछानेले बताए। अहिलेको सरकारले जस्तो भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाएको आरोप उनले लगाए। रास्वपाले भ्रष्टाचारीलाई बचायो भने सबैभन्दा पहिले पार्टी सदस्यले आफ्नो सदस्यता च्यातेर खबरदारी गर्नुपर्ने सभापतिको भनाइ थियो।उनले आफ्नो पार्टीले कसैबाट अपारदर्शी चन्दा नलिने बताए। ‘व्यापारी साथीहरु हामीसँग कत्ति पनि नआत्तिनुहोला, तपाईंहरुले चन्दा दिनुपर्दैन,’ उनले भने, ‘कसैले रास्वपाबाट चन्दा लिन आएछ भने भन्नुस्, ७२ घन्टा होइन ४० घन्टामा कारबाही गर्छु।रास्वपाले पोखरा जिरो किलोमिटरमा गत भदौयता प्रदेश कार्यालयका रुपमा ‘घन्टी घर’ प्रयोग गर्दै आएको थियो। उक्त भवनको आज उद्घाटन गरिएका हो।












