माघको अन्तिम साता देवदहमा मेला लाग्ने

प्रकाशित मिति:

बुटवल । रुपन्देहीको देवदहमा माघको अन्तिम साता आठौं देवदह महोत्सव हुने भएको छ । आउने माघको २५ गतेदेखि फागुन ८ गतेसम्म देवदहमा आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको हो । महोत्सव आयोजक संस्था देवदह उद्योग बाणिज्य संघले बुधबार पत्रकार सम्मेलन गरि माघको अन्तिम साता देवदहमा महोत्सव गर्न लागेको जानकारी गराएको हो ।  संघका अध्यक्ष हरि भण्डारीले “कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार“ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको जानकारी दिनुभयो । उहाँले बुद्धको पवित्र मावली स्थल देवदह क्षेत्रका व्यवसायी र उद्योगीहरुको संरक्षण, संवद्धन र विकास गरी उद्योगी र व्यवसायीहरुमा एकता र मैत्रीपूर्ण भावनाको वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको बताउनुभयो । “राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरुको संस्थागत विकास गर्ने उद्देश्यले आठौँ देवदह महोत्सव आयोजना गरिएको हो’’ उहाँले भन्नुभयो, “उर्वर कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रुपमामात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदि, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न पनि महोत्सवले महत्वपुर्ण भूमिका खेल्ने छ ।’’

महोत्सवमा १ सय ५० व्यावसायिक स्टलहरु सहित कृषि र पर्यटनका अलग्गै स्टलहरु रहने र महोत्सवलाई व्यवस्थित रूपमा संचालन गर्न २३ वटा उपसमिति गठन गरिएको उपाध्यक्ष मिना श्रेष्ठले बताउनुभयो । एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिईएको मेलामा १० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको संघका कोषाध्यक्ष सन्तोषनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने समेत बताउनुभयो । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने उहाँको अनुमान छ ।विविध सांस्कृतिक कार्यक्रम सहित, डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, मम्मी डान्स आईडल, फ्रि–स्टाईल थ्री मिनेट कम्पिटिसन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज (हात्ती सफारी, रथ यात्रा), योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु मेलामा संचालन गरिने संघका महासचिव विष्णु न्यौपानेले बताउनुभयो । मेला प्रवेशका लागि सर्वसाधारणलाई ८० रूपैयाँ र विद्यार्थीलाई ६० रुपैंयाँ राखिएको छ । जेष्ठ नागरिक, अपांगता भएका, असहायहरु र विशिष्ट शारीरिक क्षमता भएकाहरूलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा देवदह बाणिज्य संघका संरक्षक गोपालप्रसाद ढकालले मेला आयोजना गर्ने स्थल देवदह मण्डपमा स्थायी संरचनाका निर्माणका लागि संघले देवदह नगरपालिकासँग समन्वय गर्दै आएको बताउनुभयो । उहाँले अस्थायी संरचनाका कारण बर्षेनी मेला गर्दा ठुलो रकम खेर गएको बताउनुभयो । उहाँले खेर जाने रकमको सदुपयोग गर्न नगरपालिकामा स्थायी संरचना निर्माणका लागि डिपीआर तयारका काम समेत भएको बताउँदै त्यसमा अब नगरपालिकाले सक्रियता देखाउनु पर्ने सुझाव दिनुभयो ।देवदह–९ बुद्धनगरको देवदह मण्डवमा हुने महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने प्रवद्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश तथा सहयोगी संस्थाको रूपमा देवदह व्यापार संघ, उद्योग व्यापार संघ देवदह, बुटवल उद्योग वाणिज्य संघ र प्रगति सामुदायिक वन रहेका छन् । देवदह व्यापार संघ, देवदह उद्योग वाणिज्य संघ र उद्योग व्यापार संघ देवदह गरि तीन व्यावसायिक संस्थाले हरेक वर्ष आलोपालो महोत्सव संचालन गर्ने देवदहमा वि.स. २०७१ सालबाट महोत्सव संचालन हुँदै आएको छ । देवदह उद्योग वाणिज्य संघसंग वि.स. २०७२ साल फागुन १८ देखि २९ सम्म पहिलो पटक दोस्रो देवदह महोत्सव र वि.स. २०७५ साल फागुन १६ देखि २७ गतेसम्म पाँचौ देवदह महोत्सव आयोजना गरेको अनुभव छ । संघले मेला महोत्सव बाहेक देवदह क्षेत्रका उद्योगी व्यवसायीहरुलाई लक्षित गरी व्यवसायिक तालिम, लेखा तथा कर प्रशिक्षण कार्यक्रम, व्यवसायिक विकास योजना तालिमलगायतका व्यवसायिक क्षमतावृद्धिका कार्यक्रमहरू पनि गर्दै आएको छ ।