बर्दघाट नगरपालिका कार्यसम्पादन मुल्याङ्कनमा जिल्लाकै उत्कृष्ट 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फाल्गुन १० गते
नवलपरासी । पश्चिम नवलपरासीका स्थानिय तह मध्ये बर्दघाट नगरपालिका उत्कृष्ट भएको छ । जिल्लाका सात वटा  स्थानिय तह मध्ये आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा बर्दघाट नगरपालिका पहिलो  भएको छ ।


राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बर्दघाटले ४२ दशमलव ७४ अंक प्राप्त गर्दै प्रथम स्थानमा प्राप्त गरेको हो । त्यस्तै रामग्राम नगरपालिका  ३६ दशमलव ८८ अंक प्राप्त गरी दोस्रो भएको छ भने सुनवल नगरपालिका  ३४ दशमलव ६४ अंकका साथ जिल्लाको तेस्रो स्थानमा  भएको छ । त्यस्तै सुस्ताले २८ दसमलब ४०, पाल्हीनन्दनले २३ दसमलब ०८ र सरावलले २० दसमलब १६ अंक र प्रतापपुरले १८ दसमलब ३६ अंक प्राप्त गरेको छ ।


आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा  मुल्याङ्कन गरि यो नतिजा सार्वजनिक गरेको हो ।आयोगले योजना निर्माण, बजेट तर्जुमा र त्यसको कार्यन्वयन, शिक्षा, स्वास्थ्य, लगायतका बिषयलाई आधार बनाएको छ ।


 स्थानीय तहले समयमै बजेट पेश र पारित गरे/नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्त भित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे/नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।


 शिक्षा तर्फ  आवधिक योजना तर्जुमा, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशतजस्ता मापदण्ड रहेका छन ।


 स्वास्थ्य तर्फ  ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरुका आधारमा मुल्यांकन गरिएको हो ।


प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा नगर प्रथम स्थानमा आउनु बर्दघाट बासीको गौरबको बिषय भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । ” यो बर्दघाटको गौरवको बिषय हो । यसका लागि खटिनुहुने सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरू, राजनीतिक दलहरू, शैक्षिक तथा सामाजिक संघ संस्थाहरू, नगरपालिकाका शाखाहरू, पत्रकारहरू लगायत अन्य सरोकारवाला निकायहरूलाई  हार्दिक आभार व्यक्त गर्दछु ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो ।


बर्दघाट नगरपालिका यस अघि पनि जिल्ला कै उत्कृष्ट भइसकेको थियो ।