न्यायालयको राजनीतिकरणप्रति पूर्व न्यायाधीशहरुको चिन्ता

प्रकाशित मिति:

फाल्गुन‚ काठमाडौं- सर्वोच्च अदालतका पूर्व न्यायाधीशहरुले न्यायालयमा भइरहेको राजनीतिकरणप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाका पूर्व सदस्य अशोकनाथ तिवारीद्वारा ऐतिहासिक एवं सामसामयिक विषयवस्तुमा लेखिएका पाँचवटा कृतिहरु विमोचनका लागि आज राजधानीमा आयोजित कार्यक्रममा संवैधानिक कानूनका ज्ञाता एवं सर्वोच्चका पूर्व न्यायाधीश टोपबहादुर सिंहले न्यायालयका पछिल्ला घटनाहरुले अदालतमा अझ धेरै राजनीतक र आर्थिक प्रभाव बढ्दै गरेको देखिएको बताउनुभयो।गैरकानूनी काम गर्ने न्यायाधीशलाई सरुवा मात्रको कारवाही गर्ने प्रवृत्तिले गल्ती गर्ने न्यायाधीशहरु अझै हौसिने उहाँको भनाइ थियो।

यस्तै सर्वोच्चका पूर्व न्यायाधीश प्रकाश वस्तीले पनि न्यायालयमा राजनीतिकरण अन्त्य गर्नुको विकल्प नरहेको बताउनुभयो। अधिवक्ता एवं कानूनविद् समेत रहेका लेखक तिवारीले पृथ्वीनारायण शाहका युवराज प्रतापसिंह शाहले तन्त्रविद्याको लहडमा विवाह गरेकी नेवार कन्या मैजु महारानीको विषयवस्तुमा लेख्नुभएको कृति मैजु महारानी‚ निबन्ध संग्रहहरु हिरासत‚ चुनौती‚ पितृलोकको वर्णन र मैले नचिनेको म समेत पाँच कृतिहरु आज एकसाथ सार्वजनिक गरिएको हो। हिमालय प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा इतिहासकार डा․ सुरेन्द्र के․सीले राज्य सञ्चालनमा रहेका व्यक्तिहरुले यौनका सम्बन्धलाई उचित व्यवस्थापन गर्न नसक्दा के कस्ता दुर्घटना हुन्छन् भन्ने तथ्य मैजु महारानीमा प्रकट भएको बताउनुभयो। प्रकाशित कृतिहरुका सम्बन्धमा इतिहासकार प्राज्ञ दिनेशराज पन्त‚ वरिष्ठ साहित्यकार तथा अनुसन्धानकर्मी पुष्कर लोहनी‚ हिन्दू संस्कृतिका ज्ञाता डा․ सत्यराज थपलिया लगायतले चर्चा गर्नुभएको थियो। हिमालय प्रतिष्ठानकातर्फबाट अध्यक्ष उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले आगामी दिनमा पनि प्रतिष्ठानले कानून‚ इतिहास र पूरातत्वका क्षेत्रमा विविध अनुसन्धान एवं प्रकाशन कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।