ठूला साधारण सेयरधनीले पनि सोही बैंकबाट कर्जा लिन नपाउने

प्रकाशित मिति:

काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीको १ प्रतिशत वा सोभन्दा माथि सेयर भएका सर्वसाधारण समूहका सेयरधनीका साथै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र निजको एकाघर परिवारका सदस्यले सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् ।यसअघि बैंकको संस्थापक सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न नपाउने व्यवस्था रहेको थियो ।

अब संस्थापकमात्रै होइन, साधारण सेयरसमेत १ प्रतिशतभन्दा बढी छ भने सो सुविधा प्रयोग गर्न नपाइने भएको छ । यस्तै, ०.५ प्रतिशत संस्थापक सेयर रहेको सेयरधनीले पनि सोही बैंकबाट कर्जा लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई जारी गरेको एकिकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतभन्दा बढी सेयर लिएका संस्थापक समूहका सेयरधनी, एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका सेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख र निजको परिवारका सदस्यहरुको स्वामित्वमा रहेको सम्पत्तिको धितोमा सोही संस्थाबाट धितो राखी कर्जा प्रवाह गर्न पाइने छैन,’ संशोधित निर्देशनमा भनिएको छ । यसअघि संस्थापक सेयरको हिस्सा तोकिएको थिएन ।

थप समाचार