बर्दघाटको भुताहामा ११ दिने शिवपुराण ज्ञान महायज्ञ सुरु

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन ४ गते
नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट–९ नाउडाँडास्थित कैलासकोट शिव मन्दिरको आयोजनामा ११ दिने शिवपुराण ज्ञान महायज्ञ सुरु भएको छ। फागुन ४ गतेदेखि सञ्चालनमा आएको महायज्ञको पहिलो दिन भव्य कलश यात्रा सम्पन्न भएको छ। कलास यात्रामा आमा समूह टोल विकास संस्था लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


महायज्ञमा भागवत अलङ्कार पं. श्री नेत्र प्रसाद नरोत्तम शरण प्रमुख वाचक रहनु भएको छ। महायज्ञकाे उद्घाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नुभएको थियो। वैदिक धर्मको संरक्षण गर्दै यज्ञलाई ज्ञान र आध्यात्मिक उद्देश्य अनुरूप सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


धार्मिक एवं पर्यटकीय विकासको लक्ष्य श्री कैलासकोट शिव मन्दिर, बर्दघाट-९ भुताहाको पुनर्निर्माण तथा जग्गा खरिद गरी धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको मूलसमारोह समितिका संयोजक चापागाईंले जानकारी दिनुभयो। सनातन वैदिक धर्म, संस्कृति, दर्शन, परम्परा, रीतिरिवाजको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने लक्ष्य महायज्ञले राखेको छ।


महायज्ञ अवधिभर हरेक दिन बिहान पूजा, आराधना, शिव पुराण पाठ, हवन एवं अभिषेक, कथा प्रवचन, साँझ महाआरती तथा प्रसाद वितरण र भजन-कीर्तन गरिनेछ। ११ जना ब्राम्हणद्वारा रुद्राभिषेक सम्पन्न गरिनेछ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीपक खरालले जानकारी दिनुभयो ।


भक्तजनहरूलाई विशेष सम्मान गरिनेछ। रु. ५०१ देखि माथि सहयोग गर्ने व्यक्तिको नाम मञ्चबाट वाचन गरिनेछ भने ठूला सहयोगकर्तालाई रुद्राक्ष माला, इनामेल, शिलालेख, आजीवन सल्लाहकार पद, वरिष्ठ सल्लाहकार पद एवं मन्दिर संरक्षकको रूपमा घोषणा गरिनेछ। रु. ५००३६९ भन्दा माथि सहयोग गर्ने दाताहरूलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ।


व्यवस्था एवं सहभागिताका लागि आग्रह महायज्ञलाई भव्य र व्यवस्थित बनाउन मूलसमारोह समिति, स्थानीय संघसंस्था एवं श्रद्धालु भक्तजनहरू जुटिरहेका छन्। आयोजक समितिले सम्पूर्ण धार्मिक श्रद्धालुहरूलाई महायज्ञमा सहभागिता जनाउन आग्रह गरेको छ।