कालीगण्डकी गाउँपालिकामा असल अभ्यास कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

स्याङ्जा — स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा असल अभ्यास कार्यक्रम सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिकाको धार्मिक तथा अध्ययन भ्रमणका क्रममा कालीगण्डकी गाउपालीका पुगेको टोलीलाई कालीगण्डकी गाउँपालिकाले विशेष सम्मानका साथ स्वागत गरेको थियो। कार्यक्रममा  कालीगण्डकी गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष यादव पाण्डेय सुन्दरले मन्तव्य राख्नु भएको थियो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले कालीगण्डकीसँग पर्यटन, कृषि, धार्मिक तथा सांस्कृतिक क्षेत्रका विषयहरूमा सहकार्य गर्न सकिने बताउनुभयो। उहाँले दुई स्थानीय तहबीच अनुभव आदान–प्रदान र आपसी समझदारीका माध्यमबाट दीर्घकालीन साझेदारी विस्तार गर्न सकिने धारणा राख्नुभयो।

कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष साबित्रा कोइरालाले पनि बुटवल उपमहानगरपालिकासँग समन्वय र सहकार्यमा आफूहरू सदैव सकारात्मक रहेको बताउनुभयो। उहाँले यस किसिमका कार्यक्रमहरूले दुवै पालिकाबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत परसुराम उपाध्यायले गर्नुभएको थियो। कार्यक्रममा आपसी सहयोगका विविध सम्भावनाहरूमा छलफल समेत भएको थियो।