स्थानीय तहमा धूम्रपान नियन्त्रण तथा धूम्रपानरहित नगरपालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिका वडा नं २ मा जेष्ठ २६ गते र वडा नं १ मा जेष्ठ ३० गते “स्थानीय तहमा धूम्रपान नियन्त्रण तथा धूम्रपानरहित नगरपालिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ। तपस नेपालद्वारा आयोजित यस कार्यक्रममा स्थानीय समुदायका विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूमा महिला स्वास्थ्य स्वयंसेविका , समुदायका प्रतिनिधिहरू, युवा क्लबका सदस्यहरू, वडा कार्यालयका पदाधिकारीहरू तथा टोल विकास समितिका प्रतिनिधिहरू को उपस्थीती रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई धूम्रपान र सुर्तीजन्य पदार्थका कारण मानव स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावका साथै सार्वजनिक स्थानमा धूम्रपान निषेधको आवश्यकता र कानुनी व्यवस्था बारे विस्तृत जानकारी प्रदान गरियो। साथै, नेपाल सरकारद्वारा पारित धूम्रपान नियन्त्रण ऐन, २०६८ को प्रावधानबारे जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता जोड दिईएको थियो । कार्यक्रमले पछिल्ला समय युवावर्गमा बढ्दो रूपमा फैलिँदै गएको भेपिङ तथा ई सिगरेट जस्ता प्रविधिको प्रयोगलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्‍यो र सुर्ती उद्योगद्वारा युवालाई लक्षित गर्दै अपनाइएका नयाँ रणनीतिहरूकोबारे चेतना पनि दिईयो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष सहभागीहरूमार्फत धूम्रपानमुक्त वातावरण निर्माणमा उनीहरूको भूमिकालाई स्पष्ट रूपमा प्रस्तुत गर्नु थियो।महिला स्वास्थ्य स्वयंसेविकाहरूले घर घरमा पुगेर जनचेतना फैलाउने, युवा क्लबहरूले समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टोल विकास समितिहरूले स्थानिय स्तरमा निगरानी र समर्थन गर्ने तथा वडा कार्यालयले नीतिगत नेतृत्व प्रदान गर्ने भूमिका निर्वाह गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो।

कार्यक्रमको समापनमा वडा पदाधिकारीहरूको नेतृत्वमा तिलोत्तमा नगरपालिका वडा नं। १ र २ लाई “धूम्रपानरहित वडा” बनाउने अभियान अघि बढ्नका लागि पहिलो प्रयासस्वरूप वडा कार्यलयका साथै वडाका अन्य सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध सम्बन्धी बोर्ड र स्टिकरहरू राखिएको छ, जसले जनमानसमा स्पष्ट सन्देश पुर्‍याउने विश्वास गरिएको छ। तपस नेपालले आगामी दिनहरूमा पनि विभिन्न वडाहरूमा यस्तै कार्यक्रम विस्तार गर्दै लैजाने योजना बनाएको छ, जसबाट स्थानीय जनसमुदायलाई अझ बढी सशक्त र सचेत बनाउँदै लैजान सकिने विश्वास गरिएको छ।