गुरु पुर्णिमाको अवसरमा उत्कृष्ट नतिजा ल्याउने १४ जना शिक्षक सम्मानित

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार २६ गते
नवलपरासी । माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउन योगदान दिने शिक्षकहरूलाई आज पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सम्मान गरिएको छ । गुरु पूर्णिमाको अवसर पारेर शिक्षा विकास तथा समन्वय इकाइले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई सम्मान गरेको हो । विषयगत आधारमा सामुदायिक विद्यालयका ८ जना र संस्थागत विद्यालयका ६ जना गरि १४ जना उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।


सबैभन्दा बढि औसत सिकाइ उपलब्धि हासिल गर्न सफल भएको आधारमा अनिवार्य विषयका शिक्षकहरूलाई सम्मान गरिएको हो । संस्थागत विद्यालयबाट दिनानाथ पौडेल(अङ्ग्रेजी) , दुर्गा प्रसाद पंगेनी(नेपाली ), मोहन शरण पाण्डेय (गणीत) , देवेन्द्र हिताङ्ग (गणित), चिरञ्जिवी न्यौपाने( बिज्ञान) र रामबहादुर कार्की (सामाजिक) सम्मान गरिएको छ । त्यस्तै सामुदायिक विद्यालयबाट कृष्ण प्रसाद अधिकारी( अङ्ग्रेजी) कामना गैरे, धुव्रराज घिमिरे (नेपाली ), तुलसी कुँवर, सभ्यता प्रसाई, दुर्गा प्रसाद उपाध्याय, सदन पौडेल र राम राज श्रेष्ठ सम्मानीत हुनुभएको छ । सम्मानित हुनुहुने शिक्षकलाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।


संस्थागत विद्यालय तर्फ सम्मानीत सबै विषयगत शिक्षकहरु बर्दघाट ४ मा न्यू लाईफ माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ ।

सम्मानित हुनुहुने १४ जना मध्य १० जना शिक्षकहरु हाल बर्दघाटमा कार्यरत हुनुहुन्छ । साथै सात वटा स्थानीय तहका उत्कृष्ट विद्यालयका एक एक जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई पनि सम्मान गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भगौती यादवले सम्मानले शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूमा उत्साह वृद्धि भई थप नतिजा सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शिक्षकको मुल्याकंन कहि कतैबाट नभएपनि विद्यार्थीको उपलब्धिको आधारमा आत्मसन्तुष्ट बन्नुपर्नेमा जोड दिनुभयो । नवलपरासीमा यस वर्ष एसइइको नतिजामा सुधार भएको छ । गत वर्ष ३४ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकोमा यस वर्ष ५९ प्रतिशत बढि विद्यार्थी ग्रेडड भएका छन् ।


नवलपरासीमा सुनवल नगर क्षेत्रको नतिजा सबैभन्दा राम्रो देखिएको छ भने प्रतापपुर गाउँपालिकाका विद्यालयको नतिजा सबैभन्दा कमजोर छ । प्रतापपुरमा जम्मा २९.७२ प्रतिशत मात्र विद्यार्थी उत्तिर्ण भएका छन् ।