समाजसेवी दुर्गा प्रसाद पाण्डेद्वारा तिलोत्तमा–९ ज्ञानोदय टोलका ७५ घरधुरीलाई निःशुल्क बिरुवा वितरण
तिलोत्तमा नगरपालिका–९ ज्ञानोदय टोलका बासिन्दालाई तिलोत्तमा नगरपालिका र लायन्स क्लब अफ तिलोत्तमा स्टारको सहजीकरण तथा समाजसेवी दुर्गा प्रसाद पाण्डेको लागतमा निःशुल्क रुपमा बिरुवा वितरण गरिएको छ।
कार्यक्रम अन्तर्गत टोलका ७५ घरधुरीलाई औषधीय गुण भएका तथा वास्तुशास्त्रीय दृष्टिले महत्त्वपूर्ण मानिने बिरुवाहरू वितरण गरिएको हो। वितरण गरिएका बिरुवामा आँप, अमला, निम, अम्बा, मायारुधुपी, अल्मेरिया फूललगायतका प्रजातिहरू रहेका छन्।
बिरुवा हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय जिवलाल अधिकारीले दुर्गा प्रसाद पाण्डेद्वारा गरिएको यो कार्यलाई सराहनीय, महत्त्वपूर्ण र पुण्यकारी भन्दै प्रशंसा गरे। त्यस्तै, सोही टोलका समाजसेवी एवं जेष्ठ नागरिक रघुनाथ पाण्डेले यस्ता सामाजिक कार्यहरूले आत्मीयता, सदाचार र भाइचाराको सम्बन्ध मजबुत बनाउने मात्र नभई असल संस्कारको विकासमा योगदान पुर्याउने उल्लेख गर्दै प्रशंसा गरिएको छ ।
वितरण गरिएका बिरुवाहरूको वृक्षारोपण भई सुन्दर रूपमा हुर्किँदा वातावरण संरक्षणमा योगदान पुग्नेछ। साथै, यो बिरुवा वितरण कार्यले टोलबासीमा खुशी र सकारात्मक ऊर्जा सञ्चार गरेको छ।












