कालिगण्डकी सभ्यताको संरक्षणमा जोड, जलवायु परिवर्तनका चुनौतीबारे गल्याङमा बहस

प्रकाशित मिति:

स्याङ्जा, २३ जेठ ।

विश्व वातावरण दिवसको अवसरमा कालिगण्डकी बेसिन क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभाव तथा गण्डकी सभ्यताको संरक्षणका विषयमा स्याङ्जाको गल्याङमा अन्तर सरोकारवाला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

“समृद्ध भविष्यको आधार स् जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने राष्ट्रिय नारा सहित आयोजित कार्यक्रममा जलवायु परिवर्तनका बढ्दो असर, नदी प्रणालीको संरक्षण, स्थानीय सभ्यता र संस्कृतिको प्रवर्द्धन तथा दिगो विकासका सम्भावनाबारे गल्याङ नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका लगायतका स्थानीय तहका जनप्रतिनिधिहरु बीच गहन छलफल गरिएको थियो ।

गल्याङ नगरपालिकाको आयोजना तथा आपसी सहयोग केन्द्रको समन्वयमा सम्पन्न कार्यक्रममा नगरप्रमुख गुरु प्रसाद भट्टराईले वातावरण संरक्षण केवल एक दिवसको विषय नभई भावी पुस्ताको भविष्यसँग जोडिएको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले कालिगण्डकी सभ्यताको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्दै विकासका गतिविधि अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले स्थानीय सरकारले वातावरण संरक्षण तथा जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिनुभयो ।

त्यस्तै जनसंस्कृति तथा सभ्यता विज्ञ डा. कुलराज चालिसेले गण्डकी सभ्यता नेपालको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै नदीसँग जोडिएका परम्परा, संस्कृति र जीवनशैलीलाई संरक्षण गर्न नसके इतिहास नै हराउने खतरा रहेको बताउनुभयो ।
समाजशास्त्री डा. रामचन्द्र बरालले जलवायु परिवर्तनले समाज, संस्कृति र जनजीवनमा पारेका बहुआयामिक प्रभावबारे आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी द एसिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियारले स्थानीय तह, समुदाय र विकास साझेदार संस्थाहरूबीचको सहकार्यबाट मात्र जलवायु परिवर्तनका चुनौती सामना गर्न सकिने बताउनुभयो ।
आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्मा पौडलले कालिगण्डकी बेसिनको संरक्षण र स्थानीय समुदायको सहभागितामूलक विकासमा संस्थाले गरिरहेका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा कालिगण्डकी नदी प्रणालीसँग सम्बन्धित प्राकृतिक, सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रकृतिमैत्री विकासलाई प्रवर्द्धन गर्ने विषयमा सहभागीहरू बीच अन्तरक्रिया भएको थियो ।

कार्यक्रमले वातावरण संरक्षण, नदी सभ्यताको जगेर्ना र जलवायु अनुकूल विकासका लागि सबै पक्षबीच सहकार्य र प्रतिबद्धता अझ सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालेको आयोजकले जनाएको छ ।